अत्तरिया – दशैं एक पर्व भएपनि अहिले यसको सम्बन्ध अर्थतन्त्र संग पनि जोडिन पुगेको छ । जसले गर्दा किनमेल बिनाको दशैं अपुरो भएको महशुस गरिन्छ । किनमेल गर्ने संस्कृति बढ्दै जाँदा यो समयमा व्यवसायीहरुलाई भ्याइनभ्याई हुने गर्दछ । तर, यस बर्ष दशैं सुरु हुँदा पनि सोचेअनुसारका ग्राहक बजारमा किनमेल गर्न नआउँदा भने व्यवसायी चिन्तित छन ।
कैलालीको अत्तरियाका व्यवसायी दिलमाया आचार्यले यो बर्ष अपेक्षा अनुसार दशैंमा व्यापार नभइरहेको बताईन् । ‘कोरोना पछि घटेको व्यापार यो बर्ष बढ्ने अपेक्षामा थियौ’ उनले भनीन् ‘दशैं र अन्य समयको व्यापार एउटै छ ।’ ईश्वरी फेन्सी पसलकी संचालिका आचार्यले दशैंका लागि भनेर ऋण लिएर पसलमा कपडा थपेको भएपनि बजारमा चहलपहल नबढ्दा डुबिने हो कि भन्ने चिन्ता लागेको बताईन् ।

‘दशैंका लागि भनेर महङ्गो व्याजमा ऋण लिएर सामान थपेका थियौ’ उनले भनीन् ‘सामान थपेपछि ग्राहक बढेका छैनन् । कोरोना त छैन । तर, पनि किन व्यापार भएन बुझ्नै सकिएको छैन । अब व्याज पनि कसरी तिर्ने चिन्ता लागेको छ ।’
व्यवसायी नरेश बोहराले कोरोना पछि मानिसहरुको क्रय शक्ति घटेको बताए । ‘अहिले मानिसहरु संग पैसा नै छैन । २ जोरी लुगा किन्ने ले अहिले एक टिसर्ट मात्रै लगेर जान्छन्’ उनले भने ‘नियमित ग्राहक आइरहेका हुँन्छन । पहिले ५/७ हजारको सामान किन्ने ग्राहक अहिले हजार, प्रन्ध्र सयको मात्रै सामान किन्छन ।’

उनले दशैंका लागि भनेर सहकारी र शाहुबाट ऋण निकालेर १० लाखको सामान थपेको भएपनि बिक्रि नहुँदा चिन्ता बढेको बताए । ‘पहिले दशैं आउनु अघि नै दैनिक ४०/५० हजारको व्यापार हुन्थ्यो’ उनले भने ‘अहिले दिनभरीमा ४/५ हजारको सामान पनि बिक्रि हुँदैन ।’
विश्वव्यापी कोरोना महामारी पछि सुस्ताएको व्यापार दशैंमा बढ्ने आशामा व्यवसायी भएपनि अवस्था सुधार नहुने संकेत देखेर अहिले निराश हुन थालेका छन । ५ बर्ष देखि अत्तरियामा व्यवसाय गर्दै आएका मदन आचार्यले तुलनात्मक रुपमा व्यापार खस्किएको बताए । ‘अहिले ८० प्रतिशत ग्राहक घटेका छन । कोरोना पछिको दशैंमा बरु यो भन्दा बढी व्यापार भएको थियो’ उनले भने ‘कोरोनाको प्रभाव अझै परेको जस्तो लाग्छ । कोरोनाले धेरैको रोजगार गुमेको थियो । त्यसको प्रभाव अहिलेको दशैंमा पनि परेको जस्तो लाग्छ ।’
रेडिमेट लुगा बिक्री गर्दै आइरहेका आचार्यले अहिले नयाँ लुगा लगाउन दशैं कुर्ने मानिसको व्यवहारमा परिवर्तन आएर पनि दशैंमा व्यापार कम भएको हुन सक्ने बताए । ‘पहिले मानिसहरुले नयाँ लुगा लगाउन दशैं कुर्ने गर्थे’ उनले भने ‘अहिले पहिलेको जस्तो छैन । मान्छेहरु अहिले आवश्यक परेको बेला नयाँ लुगा किन्ने गरेका छन ।’
अत्तरियाका व्यवसायी लिलाराम सापकोटाले कोरोना महामारीको असर, विकास निर्माणका काम न्यून हुनु, बैदेशिक रोजगारी खस्किनु, जस्ता कारणले नेपाली बजार तहसनहस भएको बताए । उनले दशैं सुरु हुनु अगाडी कैलालीमा बाढीले गरेको ठूलो क्षतिको असर पनि बजारमा परेको बताए । ‘बजार चलायमान हुन सकेको छैन । बैंकले लगानी गरेको छैन । लगानी नहुँदा कारोबार ठप्प छ’ उनले भने ‘जसले गर्दा अहिले दशैं आएजस्तो व्यवसायीलाई लागेको छैन ।’
उनले यस्तै अवस्था रहिरहे धेरै व्यवसायी पलायन हुने बताए । ‘बैंकको व्याज, घरभाडा, अन्य भैपरी आउने खर्च धान्न अहिलेको व्यापारले सक्ने अवस्था छैन’ उनले भने ‘दशैंका लागि भनेर झन व्यापारीहरुले ऋणदान गरेर लगानी थपेका छन । अहिले लगानी गरेको २५ प्रतिशत पनि बिक्री हुने देखिदैन् ।’
व्यवसायीहरु व्यापार व्यवसाय बढ्नको लागि समग्र अर्थतन्त्रलाई चलायमान हुनुपर्ने भएकाले यसतर्फ सरकारको ध्यान दिनुपर्ने बताउन्छन । व्यवसायीहरुलाई कर लिने माध्यम मात्रै नबनाई व्यवसायीहरुका समस्याहरु पनि हेर्न आवश्यक रहेको उनीहरुको माग छ । व्यवसायी सापकोटाले सरकारी कर्मचारीको तलब मात्रै बढाएर अर्थतन्त्र चलायमान नहुने भएकाले समग्र क्षेत्रका समस्या सामाधान गर्न तर्फ सरकारको ध्यान पुग्नुपर्ने बताए ।

















