अत्तरिया चोकमा रहेको सार्वजनिक शौचालय करिब २ वर्षदेखि बन्द अवस्थामा छ । बजारको मुख्य क्षेत्रमा रहेको शौचालय बन्द अवस्थामा हुँदा त्यहाँ मदिरा सेवन गरेर आउने मानिसहरुले शौचालयकै बाहिर पट्टि शौच गर्न थाले । जसले गर्दा शौचालय वरपरको वातावरण दुर्गन्धित बनेको छ । २०६२ सालमा तत्कालिन अत्तरिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा निर्माण गरिएको उक्त शौचालय कोरोनाको पहिलो महामारीको समयदेखि नै बन्द अवस्थामा रहेको छ ।
त्यतिखेर अत्तरिया चोकमै बसपार्क हुदाँ यात्रुहरुलाई शौच गर्न अफ्ठ्यारो हुने अवस्था देखिएपछि खानेपानीले आफ्नो पहिलो टेण्डरमा शौचालय निर्माण गरेको थियो । तर शौचालयको व्यवस्थापन नहुँदा हाल उक्त शौचालयको भौतिक अवस्था पनि जिर्ण छ ।


शौचालयकै दुर्गन्धका कारण व्यापार व्यवसायमा घाटा बेहोर्नुपरेको शौचालय वरपरका व्यपारीहरुको गुनासो छ । बन्द अवस्थामा रहेको उक्त शौचालयका कारण बजारनै दुर्गन्धित बनेको अवस्था छ । खानेपानीले शौचालय निर्माण पश्चात त्यसको व्यवस्थापनको लागी एक जना मानिसलाई जिम्मेवारी दिएको थियो । तर शौचालयको जिम्मेवारी दिईएको व्यक्तिले शौचालयलाई सफा र व्यवस्थीत गर्नुको साटो दुर्गन्धित बनाएपछि त्यस वरपरका व्यापारीहरुले शौचालय हटाउनुपर्ने माग गरेका थिए । तर उक्त माग सम्बोधन भने हुन सकेको छैन ।
बजारको मुख्य क्षेत्रमा रहेको शौचालय कि त व्यवस्थीत रुपमा सञ्चालन हुनुपर्ने, हैन भने त्यसलाई भत्काईनुपर्ने अनिवार्य जस्तै बनेको छ ।
बजारमा आवत जावत गर्ने मानिसहरुले शौचालयको अवस्था देखेर बजारको सुन्दरतामाथी प्रश्न उठाउने अवस्था सिर्जना भैसकेको छ ।
त्यसैले ढिला नगरी बजारको सुन्दरता जोगाउन चोकमा रहेको शौचालयलाई व्यवस्थीत बनाउन तिर सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ ।

















