प्राकृतिक स्रोतका रुपमा रहेका खोलानालाहरु पछिल्लो समय अतिक्रमण हुने क्रम तिब्र छ । खोलानाला नजिकका घरधनी तथा जग्गा धनीहरुले खोलाको क्षेत्रफल रहेको जमिनलाई समेत अतिक्रमण गरेर खोलाको आकार साघुँरो बनाउन थालेका छन । देश आधुनिकतातिर गएसँगै शहरी क्षेत्रमा जमिनको भाउ आकाशिएपछि मानिसहरुले खोलानाला तथा वनजंगलको अतिक्रमण गर्ने क्रम बढेको हो ।
पहाडी क्षेत्रबाट मानिसहरु शहरमा बसाई सर्न थालेका छन । पहाडमा भौतिक पुर्वाधार मात्रै नभई मानिसलाई भैपरि आउने कतिपय कुराहरुको अभाव भएपछि अहिले तराईतिर अर्थात विकशित शहरतिर बसाई सरीजाने क्रम मौलाउदै गएको छ । फलस्वरुप खोला नाला र वनजंगलको क्षेत्र अतिक्रमण गरी बासस्थानको लागी मानिसहरु प्रयोग गर्न थालेका छन । त्यसले गर्दा यहाँका खोलानालाहरुको आकार एकदमै साघुँरिदै गएको छ ।

खोलानाला प्राकृतिक सम्पत्ति हुन । यिनीहिरुको संरक्षण गर्नुको साटो मानिसहरुले विनाश गर्दै गएका छन । अहिले तराईका क्षेत्रहरुमा डुबानको समस्या हुने मुख्य कारण नै यही हो । खोलानालाको आकार साघुँरिएपछि खोलामा बग्ने पानिको बेग फैलिएर बाहिर आउँछ, फलस्वरुप केही दिन पानि परे तराईका घरहरु डुबान हुन्छन ।

विगतमा केही कम भएपनि हाल भने तराईमा डुबानको समस्या बढी छ । केही दिन अघि मात्रै एक दिनको पानिका कारण कैलालीको गोदावरी नगरपालिका वडा नं. २ का ३० घरहरु डुबानमा परेका थिए । पानिको निकाश नभएपछि वर्षायाममा परेको पानी जम्मा हुँदा घरहरु डुबेका थिए । गत असोजतिर पनि बेमौषमी वर्षाले डुबानको समस्या निम्त्याएको थियो । उक्त समयमा किसानहरुले धानबाली समेत समेट्न पाएका थिएनन् ।
समग्रमा प्राकृतिक सम्पत्तिहरुलाई असर पार्ने गरी कुनैपनि कार्यहरु गर्न हुदैन । खोलानालाको आकार बढी भए वर्षायाममा आउने पानि खोलामा जान्छ, जसले डुबानको समस्या हुन पाउदैन । खोलानालाको अतिक्रमणले केही मात्रा जमिन लिन सकिएला तर त्यसको कहरले विनाश बाहेक अरु केही हुदैन । प्रकृतिसँग जोरि खोज्दा मानिसको अस्तित्व नै धरापमा परिरहेको छ ।
मानिसले आफ्नै अस्तित्वलाई संकटमा पार्दै लालचमा आएर प्रकृति विरोधी अनेकौ कामहरु गरिरहेको छ । प्रकृतिको प्रकोप भयानक हुने भएकाले समयमै सजग बनेर प्राकृतिक सम्पत्तिहरुको संरक्षणमा जुटौ । खोलानालाहरु अतिक्रमण गरि बनाईएका संरचनाहरु भत्काऔ । खोलानालाको संरक्षण गरौ । काठमाण्डौका मेयर बालेन शाहले ५० वर्षपछि टुकुचा पत्ता लगाए ।
गोदावरी नगरपालिकामा पनि त्यस्तै स्थिति नआउला भन्न सकिन्न । त्यसैले भएका खोलानालाहरुको संरक्षण र संर्वद्धन गरौ । प्राकृतिक सम्पत्ति रहे मानिसको अस्तित्व रहन्छ भन्ने कुरा ख्याल गरौ ।

















