सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुको संगम स्थल अत्तरिया हो । अत्तरियाबाट प्रदेशका तराईका दुई जिल्ला सहित पहाडी सात जिल्लामा आवत जावत गर्ने सवारी साधनहरु गुड्छन । यही भएर पुर्वी क्षेत्रमा जाने सवारी साधनहरु पनि आवत जावत गर्ने गर्दछन । प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिकाको मुख्य बजारका रुपमा रहेको अत्तरिया बजारमा अवस्थीत चोक घुमेर नै धनगढी, महेन्द्रनगर सहित पुर्वबाट पहाड र पहाड बाट पुर्व जाने गाडीहरु गुड्ने गर्दछन ।
नगरको पहिचानको रुपमा रहेको अत्तरिया चोक पछिल्लो समय भने विज्ञापनको हब बनेको छ । विभिन्न संघसंस्था तथा स्कुलहरुका व्यवसायीक विज्ञापनले अत्तरिया चोक भरिएको छ । चोकको चारैतिर बनाईएको फलामको पर्खालहरुमा अझै पनि कतिपय संघसंस्थाहरुले विज्ञापन झुन्ड्याएर राखेका छन । प्रदेशको मुख्य गन्तव्य स्थलमा रहेको चोक प्रदेशको पहिचान भएपनि उक्त पहिचानलाई धमल्याउने काम विज्ञापनहरुले गरेका छन ।

बजारको सुन्दरता र यहाँको पहिचानका लागी प्रयोग गरिनुको सट्टा व्यवसायीक संघसंस्थाका विज्ञापनहरुले गर्दा चोक नै कुरुप बन्दै गएको छ । प्रदेशलाई चिनाउने धार्मिक एवम् पर्यटकिय क्षेत्रहरुका तस्बिर राख्दा प्रदेशमा आउने पर्यटकहरुमा प्रदेशप्रतिको सोच नै परिवर्तन हुन सक्छ । चोकमा राखिएका पर्यटकिय क्षेत्रका फोटोले मात्र पनि पर्यटकहरुको मन आकर्षित गर्न सक्छन ।

अत्तरिया चोकले समग्र सुदूरपश्चिमको पहिचान बोक्ने काम गर्न सक्छ भन्ने कुरा हामीले विर्सन हुदैन । प्रदेशकै पहिचान दिलाउने क्षेत्रका तस्बिरहरु अत्तरिया बजारको मुख्य चोकमा राख्दा प्रदेशमा पर्यटकहरुको आर्कषण बढ्न सक्दछ, जसले प्रदेशको आर्थिक समृद्धिमा पनि टेवा पुग्न सक्छ । कोरोना महामारी पछिको समयमा पर्यटकहरुको संख्यामा कमि आउँदा सुदूरपश्चिमका पर्यटकिय क्षेत्रहरु समेत ओझेलमा पर्दै गईरहेका छन ।
यस्तो अवस्थामा सुदूरपश्चिममा पर्यटकहरुको संख्या बढाउन अत्तरिया चोकले महत्वपुर्ण भुमिका खेल्न सक्दछ । चोकमा लगाईने तस्बिरहरुका कारण पनि अन्य क्षेत्रमा यहाँको पहिचान झल्किन सक्दछ । केही समय पहिला अत्तरिया चोकमा बिलबोर्ड लगाईदा चोक विज्ञापनका लागी प्रयोग हुनुहुदैन भन्दै विरोध गर्ने नगरबासीहरु स्वयम् चोकलाई विज्ञापनको हबका रुपमा प्रयोग गरिरहेका छन । चोकलाई स्वच्छ र सुन्दर बनाउन भुमिका खेल्नुपर्ने ठाउँमा आफैले चोकको सुन्दरतामा आँच आउने काम गर्नु निन्दनिय नै हुन्छ ।
चोक अत्तरियाबासीको नैतिकता दर्शाउने स्तम्भ हो । यसको संरक्षण गरी यसलाई स्वच्छ र सुन्दर बनाउने कार्य गर्नुको साटो यसलाई गलत रुपमा प्रयोग गर्दा अत्तरियाबासीप्रति बाहिरी क्षेत्रका मानिसहरुको मनोभाव नकारात्मक हुन जान्छ । त्यसैले चोकको सुन्दरता बढाउन यहाँ संघसंस्थाका विज्ञापनहरु नराखौ ।
अत्तरिया चोकलाई यसलाई विज्ञापन हबका रुपमा प्रयोग गर्ने नागरिकहरुलाई कारबाहीको दायरामा ल्याऔ । सकिन्छ भने निश्चित स्थानहरुमा सुदूरपश्चिम र गोदावरी नगरपालिकामा रहेका धार्मिक एवम् पर्यटकिय क्षेत्रका तस्बिरहरु राखौँ । चोकलाई व्यवसायीक संघसंस्थाको विज्ञापन हब बनाउनु भन्दा पनि पर्यटकिय क्षेत्रका फोटोहरुको हब बनाउन उपयुक्त होला ।

















