सडकको प्रयोग सवारी साधन आवत जावतका लागी गरिन्छ । सवारी साधनहरुले मानिसलाई आवश्यक परेको समयमा सेवा दिने हुँदा सवारी साधनको आवागमनका लागी सडक निर्माण गरिन्छ । सडकले मानिसहरुलाई आवत जावतमा सहजता प्रदान गर्नु मात्रै नभई मानिसले उत्पादन गरेका वस्तुहरुलाई बजारसम्म पु¥याउन समेत सजिलो बनाउँदछ ।
पहाडका दुर्गम क्षेत्रमा सडक सञ्जाल नपुगेकै कारण कतिपय उत्पादित वस्तुहरुले बजार नपाईरहेको अवस्था छ । विकास निर्माणको एउटा अहम कडीका रुपमा सडक लिईन्छ । केही वर्ष अघि विकास भनेकै सडक सञ्जाल पुग्नु हो भन्ने यस क्षेत्र मानिसहरुको बुझाई रहेको थियो । पछिल्लो समय विस्तारै विकासको स्वरुप मानिसले बुझ्न थालेका छन ।

विकासको अहम हिस्साका रुपमा रहेको सडकलाई पछिल्लो समय दुरुपयोग गरिन थालिएको छ । यातायातका साधनहरुको आवतजावतका लागी लाखौ रकम खर्च गरेर निर्माण गरिएका सडकहरुलाई दुरुपयोग गर्दै पछिल्लो समय केही मानिसहरुले सडकमा खाद्यान्न सुकाउने, पशु चौपाया बाध्ने, घाँस सुकाउने लगायतका कार्यहरु गर्न थालेका छन ।

सडकमै पशु चौपाया बाध्ने, घाँस तथा खाद्यान्न सुकाउने लगायतका कार्यले सडकको उपयोगीता घट्दै गएको छ । पहाडी क्षेत्रका कुनै कुनै स्थानमा मुख्य राजमार्गमै त्यस्तो कार्यहरु गरेको भेटिन्छन भने शाखा सडकहरुमा त सबै ठाउँमा सोही कार्य भैरहेको हुन्छ । विकाससँग जोडिएको सडक सञ्जालको दुरुपयोग गर्दै त्यसलाई गलत कामका लागी प्रयोग गर्दा त्यसले अन्य विकासका कार्यहरुको निर्माणलाई पनि रोक्न सक्दछ ।
सडकले मानिसलाई एक ठाउँबाट अर्काे ठाउँमा पुग्न, दुःखी विरामी पर्दा एम्बुलेन्स बोलाई लैजान तथा अन्य विभिन्न कार्यका लागी सहयोगी भुमिका निर्वाह गरेको हुन्छ । त्यस्तो अवस्थामा सडकमा खाद्यान्न सुकाईदा वा पशु चौपाया बाधिँदा यातायातका साधनहरुको आवागमनमा अवरोध सृजना हुने गर्दछ । जसले गर्दा अति आवश्यक परेको अवस्थामा मानिसलाई त्यसले धेरै ठुलो समस्या उत्पन्न गर्न सक्दछ ।
सडक कालोपत्रे गरिनुको कारण यातायातलाई सहज रुपमा सञ्चालन गर्नलाई हो, घाँस सुकाउनलाई होईन, खाद्यान्न सुकाउनलाई होईन । त्यसैले सडकको सही सदुपयोग गरौ । सडककै कारण जमिनको मुल्य आकाशिएको छ । सरकारी मापदण्ड अनुसार पनि जमिनको कारोबारका लागी सडक अनिवार्य छ ।
पहाडी क्षेत्रमा कतिपय स्थानमा सडक सञ्जाल नपुगेर दुःख पाईरहेका नागरिकको समस्या विभिन्न सञ्चारमाध्यमहरु मार्फत देखिदै र सुनिदै आएका छन । सडक सञ्जाल पुगिसकेका स्थानमा भने नागरिक सडकमा खाद्यान्न सुकाउछन, घाँँस सुकाउँछन । त्यति मात्रै नभएर बिच सडकमै पशु चौपाया समेत बाध्छन । जिवनको महत्वपुर्ण अंग जस्तै बनिसकेको सडकको दुरुपयोग नगरी सडकको वास्तविक महत्व बुझेर त्यसलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न आवश्यक छ ।

















