खाेज्नुहाेस

किसानलाई परिचयपत्र दिँदा के हुन्छ ?

Image

गोदावरी नगरपालिकामा शनिबारबाट किसानहरुलाई परिचय पत्र वितरण गर्ने कार्य सूरु भयो । केयर नेपाल नामक संस्था र राष्ट्रिय कृषक समुह महासंघ नेपालको समन्वयमा नगरपालिकाले वडा नं। ३ का किसानहरुलाई परिचय पत्र वितरण गरेर उक्त कार्यको सुरुवात गरेको हो । किसानहरुलाई वर्गिकरण गरी उनिहरुको जमिनको आधारमा गरिएको कृषि खेती र उक्त खेतीबाट हुने आम्दानीको स्रोतलाई आधार बनाई ४ किसिमका परिचय पत्र वितरण गरिएको छ । वर्गिकरण गरिएका किसानहरुलाई रातो, सेतो, पहेलो र निलो परिचय पत्र प्रदान गरिदै छ ।

रातो परिचय पत्र पाउने किसानको लागि भूमिको स्वामित्व नभएको वा ०।१ हेक्टर भन्दा कम जमिन भएको वा खेतिगर्ने वा कृषि मजदुरको रुपमा काम गर्ने गरी जिविकोपार्जन गर्ने र बार्षिक अधिकतम १ लाख सम्म कृषि आम्दानी भएको हुनुपर्ने मापदण्ड तोकिएको छ भने सेतो परिचय पत्र पाउने किसानको लागि चार जनाको परिवारलाई जीविकोपार्जन गर्नुपर्ने कृषि व्यवसाय वा ०।५ हेक्टर सम्म खेती योग्य जमिन भएको र १ लाख देखि ५ लाख सम्म कृषि आम्दानी भएको हुनुपर्ने भनी मापदण्ड तोकिएको छ ।

attariya hospital

यस्तै पहेलो परिचय पत्र पाउने किसानको लागि चार जना भन्दा बढिको परिवारलाई जीविकोपार्जन गरी थप आम्दानी गर्ने, तोकिएको मापदण्ड बमोजिमको व्यवसाय वा ०।५ देखि २ हेक्टर सम्म कृषि योग्य भूमि रहेका वा खेती गर्ने र ५ देखि १५ लाख सम्म बार्षिक कृषि आम्दानी भएको हुनुपर्ने मापदण्ड तोकिएको छ भने निलो परिचय पत्र पाउने किसानका लागि २ हेक्टर भन्दा माथि कानुन बमोजिम कृषि भूमि वा खेती गर्ने र बार्षिक १५ देखि ५० लाख सम्म बार्षिक कृषि आम्दानी भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । उक्त मापदण्ड अनुसार किसानहरुलाई वर्गिकरण गरिसकेर नगरपालिकाले परिचय पत्र वितरणको काम सुरु गरेको जनाएको छ ।

किसानहरुले परिचय पत्र प्राप्त गरेपनि कतिपयले यो परिचय पत्रको बारेमा जानकारी पाएका छैनन् । नगरपालिकाले किसानहरुलाई वर्गिकरण गरि परिचय पत्र प्रदान गर्नुको पहिलो उद्देश्य नगरमा भएका किसानहरुको तथ्यांक राख्नु हो भने त्यसपछि को उद्देश्य भनेको वास्तविक किसानसमक्ष सरकारी निकायबाट प्राप्त सेवा सुविधा पु-याउनु हो । अहिले देशमा तिन तहका सरकार छन । यस्तो अवस्थामा बाठो मान्छेले दुईतिन ठाउँबाटै सेवा सुविधाहरु पाउने र कसैले केही पनि नपाउने परिपाटीको अन्त्यका लागी नगरपालिकाले उक्त कार्य थालेको हो ।

नगरपालिकामा किसानको परिचयपत्रको आधारमा सेवा सुविधा दिने कार्य हुनेछ । जसले गर्दा वास्तविक किसानहरुले सरकारको सेवा सुविधा पाउनेछन । परिचयपत्र अनुसार रातो कार्ड भएका किसानहरुलाई भएका किसानहरुलाई १०० प्रतिशत, सेतो कार्ड भएका किसानलाई ७५ प्रतिशत पहेँलो कार्ड भएका किसानहरुलाई ५० प्रतिशत र निलो कार्ड भएका किसानहरुलाई २५ प्रतिशत अनुदान दिने मापदण्ड बनाइएको छ । त्यस आधारमा नगरपालिकामा भएका किसानहरुले अनुदान वा सरकारी संस्थाबाट पाईने सेवा सुविधा पाउँदा एउटै किसान दोहोरीने सम्भावना कम हुन्छ र सरकारको सहयोग वास्तविक किसान समक्ष पुग्नेछ ।