अत्तरिया – गोदावरी नगरपालिका र कृष्णपुर नगरपालिका जोड्ने पधनियाघाट झोलुङ्गे पुल जोगाउन जैविक तटबन्धन निर्माणको काम सुरु गरिएको छ । गोदावरी र मोहना नदीको दोभानमा निर्माण गरिएको उक्त पुल बाढीको जोखिममा परेपछि तटबन्धन निर्माणको काम सुरु गरिएको हो ।
कृष्णपुर नगरपालिका – ७ का स्थानीयले अत्तरिया, धनगढी बजार आउन दैनिक रुपमा प्रयोग गर्ने उक्त झुलुङ्गे पुल बाढीको उच्च जोखिममा परेपछि दुवै पालिकाको साझेदारीमा तटबन्धन निर्माण गर्न लागिएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष घुम्मन रानाले जैविक तटबन्धन निर्माणका लागि वडाबाट १५ जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका १५ जना परिचालन गरिएको बताए ।

उनले १५ जनाको टोलीले कठ्ठामा माटो भर्ने काम गरिरहेको बताए । करिब २ सय मिटर लम्बाइको उक्त तटबन्धन निर्माणका लागि गोदावरी नगरपालिकाले ५० हजार सहयोग गर्ने प्रतिवद्धता गरेको वडाध्यक्ष रानाले बताए ।


तटबन्धन निर्माणका लागि कृष्णपुर नगरपालिकाले ७ सय बास, ८ हजार खालि कट्टा, नेट जाली र १५ जना कामदार परिचालन गरिएको छ ।
पुलको उत्तर भागमा गत बर्षनै नदीले कटान गरेपछि पुल जोखिममा परेको कृष्णपुर नगरपालिका – ७ का चन्द्र बहादुर रोकायाले बताए । ‘यस बर्ष अहिले सम्म ठूलो बाढी आएका छैन । बाढी आएको भए पुलमा क्षति पुग्ने निश्चित थियो । पुल संग पुल जोड्ने बाटो पनि जोखिममा थियो’ उनले भने ‘जैविक तटबन्ध निर्माण हुन थालेपनि पुल जोगिने आशा पलाएको छ ।’ उनले जैविक तटबन्धन निर्माण पछि वन वन कटान पनि जोगिने बताए ।
स्थानीय खडक सिह बोहराले १० बर्ष पहिले बनेको पुल अत्तरिया धनगढी जोड्ने छोटो बाटो भएको बताए । ‘यसै पुलको बाटो प्रयोग गरेर अत्तरिया धनगढी बजार जाने गरेका छौ’ उनले भने ‘बाढीले पुल बगाइहाल्छ की भनेर निकै चिन्तित थियौ ।’ उनले यसअघि कृष्णपुर नगरपालिका तर्फको क्षेत्रमा पनि नदीले कटान गरेपछि तटबन्धन निर्माण गरिएपछि जोगिएको बताए । उनले अहिले नदीले धार परिवर्तन गर्दा गोदावरी नगरपालिका तर्फको क्षेत्र जोखिममा परेको बताए ।
जैविक तटबन्धन निर्माणका लागि बाँसको ढाँचा निर्माण गरेर बिचको भागमा बालुवा भरिएका कट्टा हालिदै छ । जसका लागि मंगलबार करिब ५० जना सशस्त्र प्रहरीले पनि सघाएका थिए ।

मंगलबार नै गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले पनि तटबन्धन निर्माण स्थलको अवलोकन गरेका थिए । सो अवसरमा उनले गोदावरी नगरपालिकाबाट ५० हजार सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।



















