अत्तरिया – कैलालीको अत्तरियामा अन्तर प्रदेश सवारी परीक्षण कार्यालय स्थापना गरिएको छ । अन्तर प्रदेश (नेपाल भर) संचालन हुने सार्वजनिक सवारी साधनहरुको लागि हुने सेवा प्रवाह गर्न संघिय सरकार मातहतको उक्त कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालय स्थापना भएपछि अन्तर प्रदेश स्तरीय कामका लागि प्रदेश बाहिर जानुपर्ने बाद्यता हटेको कार्यालयका प्रमुख जितेन्द्र प्रशाद शर्माले बताए । उनले प्रदेश मातहतमा रहेका धनगढी, महेन्द्रनगर र डडेल्धुरामा रहेका यातायात कार्यालयले प्रदेश भित्रमै संचालन हुने यातायातका साधनको जाँच पास, रुट परमिट लगातका सेवा दिने गरेकोमा प्रदेश सवारी परीक्षण कार्यालयले अन्य प्रदेशका लागि पनि सो सेवा दिने बताए ।

‘यस कार्यालयबाट बिषेश गरेर प्रदेश बाहिर जाँने र बाहिरी प्रदेशबाट आउने सार्वजनिक सवारी साधनहरुले सेवा पाउने छन’ उनले भने ‘कार्यालयबाट यात्रुवाहक र मालवाहक सवारी साधनको जाँचपास, बाटो इजाजतपत्र प्रदान, स्तर कायम, प्रदुषण परिक्षण, रात्री सेवा, स्तरीय सेवा, डिलक्स तथा सुपर डिलक्स सेवामा संचालन हुने सार्वजनिक सवारी साधनको मापदण्ड अनुसार सवारी निरीक्षण गरी तोकिएको अवधिसम्म संञ्चालनको स्वीकृति दिने लगायतका कार्यहरु गरिनेछन ।’
अन्तर प्रदेशमा संचालन हुने सार्वजनिक सवारी साधनले ६/६ महिनामा जाँच पास र ४/४ महिनामा रुट परिवर्तन गर्नुपर्ने प्रावधान गरेको छ । हाल सेती र महाकाली यातायात कार्यालयहरुले केही क्षेत्रका लागि अन्तर प्रदेशका काम गरिरहेको भएपनि अब भने ति कार्यालयबाट दिईको अन्तर प्रदेश सेवा मान्य नहुने कार्यालय प्रमुख शर्माले बताए ।
नेपाल सरकारले ७ वटै प्रदेशमा सवारी परीक्षण कार्यालय राख्ने नीति अनुरुप सुदूरपश्चिमको कार्यालय अत्तरियामा राखिएको हो । हाल अन्तर प्रदेश कार्यालय अत्तरिया सहित बुटवल, काठमाण्डौं, हेटौडा र इटहरुमा राखिएका छन भने कर्णाली प्रदेश, गण्डकी प्रदेशर मधेस प्रदेशमा कार्यालय स्थापना हुन बाँकी छन ।


यस्ता छन सेवा र शुल्क
अत्तरियामा स्थापना भएको सवारी परीक्षण कार्यालयले आईतबारबाट आफ्नो सेवा सूचारु गरेको जनाएको छ । जसमा पहिलो दिन ६ जनाले सेवा लिएका थिए । उक्त कार्यालयबाट नयाँ जाँचपास तथा नविकरणको काम गरिने छ । जसका लागि ठूलो सवारी साधनको लागि ३ सय र मझौला सवारी साधनका लागि २ सय दस्तुर तोकिएको छ । कार्यालयबाट सवारी साधनको प्रदुषण परीक्षण पनी गरिने जनाइएको छ । जसका लागि आवश्यक कागजात पुगाएर निवेदन दिनु पर्ने छ । उक्त कार्यका लागि ३५ रुपैयाँ शुल्क तोकिएको छ ।
कार्यालयबाट बाटो इजातपत्र जारी गर्ने, बाटो इजाजत नविकरण गर्ने र बाटो इजाजत परिवर्तको काम पनि गरिने छ । जसका लागि सवारी धनीले निवेदन पेश गरेमा नियमानुसार शुल्क लिईने कार्यालयले जनाएको छ ।
त्यस्तै कार्यालयबाट यात्रुवाहक सार्वजनिक सवारी साधनको स्तर निर्धारण र संचालनको स्वीकृति र नेपालमा जडान (एसेम्बल) हुने सवारी साधनको सडकमा चल्ने क्षमताको जाँच हुने छ । जसका लागि सवारी साधन धनीले निवेदन दिएमा निःशुल्क सेवा दिईने कार्यालयले जनाएको छ ।
दरबन्दी अनुसार कर्मचारी अभाव
गोदावरी नगरपालिका – ४ अत्तरिया चोक देखि १ किलोमिटर पुर्वमा रहेको छ । भाडाको घरमा संचालन गरिएको उक्त कार्यालयमा दरबन्दी अनुसारका कार्मचारीको भने अभाव रहेको कार्यालयका प्रमुख शर्माले बताएका छन । उनका अनुसार हाल उक्त कार्यालयमा १४ जनाको दरबन्दी रहेकोमा ९ जना कर्मचारीले सेवा दिइरहेका छन ।
कार्यालयमा १ जना सिनियर डिभिजन इन्जिनियर कार्यालय प्रमुख, २ जना मेकानिकल इन्जिनियर, १ जना शाखा अधिकृत, ३ जना मेकानिकल सुपरभाइजर, १ जना नायव सुब्बा, १ जना कम्प्युटर ओपरेटर, १ जना लेखापाल, १ जना खरिदार, २ जना कार्यालय सहयोगी र १ जना सवारी चालकको दरबन्दी रहेको कार्यालय प्रमुख शर्माले बताए । उनले जसमध्ये हाल २ जना मेकानिकल इन्जिनियर, १ जना शाखा अधिकृत र २ जना मेकानिकल सुपरभाइजरको दरबन्दी खालि रहेको बताए ।


















