अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो सवारी चाप र सडक पार गर्ने पैदलयात्रीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले अघि बढाएको उक्त आयोजना अहिले निर्माणको चरणमा छ । गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले २०८३ जेठ २ गते पुल निर्माणको शिलान्यास गरेका थिए । नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट निर्माण गरिरहेको यो पुलको लागत एक करोड ४२ लाख ८५ हजार ४९८ रुपैयाँ रहेको छ ।
पुल निर्माणको जिम्मा धनगढीस्थित क्रीजल–त्रिनेत्र–सिद्धनाथ जेभीले पाएको छ । नगरपालिका र निर्माण कम्पनीबीच २०८२ फागुन १० गते सम्झौता भएको थियो । तर, सडक डिभिजन कार्यालयबाट निर्माण अनुमति प्राप्त गर्न ढिलाइ हुँदा काम सुरु हुन समय लागेको थियो । निर्माण कार्य अघि बढाउन सडक डिभिजन कार्यालयले २०८३ वैशाख १४ गते अनुमति दिएको थियो ।

सम्झौताअनुसार २०८३ पुस ३० गतेभित्र निर्माण सम्पन्न गरी पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । पुलको लम्बाइ ४५ मिटर र पैदल हिँड्ने मार्गको चौडाइ दुई मिटर हुनेछ । सडक सतहबाट पुलको उचाइ ५.६ मिटर रहने बताइएको छ ।

हाल पुलको फाउण्डेसन आरसीसी ढलानको काम सकिएको छ । पुलका तीन वटै पिल्लर निर्माण सम्पन्न गरिएका छन भने पुलमा उक्लने सिडि पनि दुवै तर्फ निर्माण सकिएका छन । अब तीनवटै पिल्लरमाथि पुलको मुख्य माथिल्लो संरचना राख्ने काम बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । उक्त संरचना जडान भएपछि दुवैतर्फ निर्माण गरिएका सिँढीलाई पुलसँग जोडेर आवागमनका लागि तयार गरिनेछ ।
यसबाट विशेषगरी व्यस्त चोकमा सडक पार गर्नुपर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ । आकाशे पुल सञ्चालनमा आएपछि पैदलयात्री र सवारीसाधनको आवागमन छुट्टाछुट्टै बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आकाशे पुल निर्माण सुरु गर्दा अत्तरिया बजारको समग्र व्यवस्थापनबारे पनि प्रश्न उठेका थिए । स्थानीय तहमा सडक, नाला, बसपार्क र अन्य पूर्वाधारको समस्या समाधानलाई सँगसँगै अघि बढाउनुपर्ने भन्दै पुल निर्माणको विरोध समेत गरिएको थियो ।
धनगढी – अत्तरिया छ लेन सडकमा सडक निर्माण सुरु गरिएदेखि ६ वटा आकाशे पुल बनाउने चर्चा हुँदै आएका छ । मोहना पुलदेखि अत्तरिया चोकसम्मको करिब १४ किलोमिटर सडक खण्डमा धनगढीको मिलन चोक, चौराहा, सहिदगेट, राजपुर, गेटा र अत्तरिया सहित छ स्थानमा आकाशे पुल निर्माण गर्ने योजना अघि सारिएको थियो ।
तर, पछि बिभिन्न प्राविधिक कारण देखाउँदै हालसम्म पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन । एकातिर ट्राफिक लाईट नहुनु र अर्कोतर्फ आकाशे पुल निर्माण नगरिदा मोहना अत्तरिया छ लेन सडक पार गर्दा यात्रुहरुले जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ ।



















