अत्तरिया – सुदूरपश्चिम प्रदेश स्तरीय ‘सुप स्कुल डान्स आईडल २०२२’ आयोजना गरिने भएको छ । बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै विप्लव इन्टरटेनमेन्ट ग्रुप नेपाल प्रालिको आयोजनामा डान्स आइडल आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विप्लव इन्टरटेनमेन्ट ग्रुपका संचालन बिनोद मल्लले भाद्र ११ गतेदेखि अडिसन सुरु गरिने बताए । जस अन्तरगत भाद्र ११ गते डडेल्धुरा, भाद्र १८ गते धनगढी, आईबिआरडि, भाद्र २५ गते महेन्द्रनगर, झलारी, दैजी, असोज १ गते अत्तरिया, गुलरिया, लालपुर, असोज ८ गते चौमाला मसुरिया, असोज १० गते सुख्खड, पहलमानपुर र असोज १५ गते टीकापुर र लम्कीमा अडिसन गरिने जनाइएको छ ।

अडिसनमा सहभागि हुनका लागि कक्षा १ देखि एसईई परीक्षा दिएको हुनुपर्ने विप्लव इन्टरटेनमेन्ट ग्रुपका संचालन मल्लले बताए । उनले अडिसनका क्रममा टप १०० मा पुग्ने सहभागिको आवासको व्यवस्था आयोजकले गर्ने र त्यसअघिको सबै खर्च भने सहभागिकै हुने बताए ।
प्रतिस्प्रधामा उत्कृष्ट ५ भित्र पर्नेलाई स्कलरसिप, काठमाण्डौं टुर, २ महिना निःशुल्क डान्स ट्रेनिङ र म्युजिक भिडियोमा अवसर दिईने जनाईको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार सहित साईकल, द्धितिय हुनेलाई ३० हजार सहित साइकल र तिृतिय हुनेलाई १९ हजार सहित साईकल प्रदान गरिने आयोजकले जनाएको छ ।
अडिसनको फाइनल जजका रुपमा आस्मा विश्वकर्मालाई ल्याइने जनाइएको छ । अडिसनको फाइनल अत्तरियामा हुने जनाइएको छ ।
सुप स्कुल डान्स आईडलको निर्देशकका रुपमा एचएस डान्स एकेडमीका संचालक मोहित पाठक र वान वे डान्स एकेडमीका संचालक नरेश बिसी रहेका छन ।
निर्देशक पाठकले सुदूरपश्चिमको डान्स क्षेत्रलाई अगाडी बढाउनका लागि डान्स आइडल प्रतियोगिताको आयोजना गरिन लागिएको बताए । उनले यस प्रतियोगिताबाट दुर दराजका प्रतिभाहरुलाई उजागर गरिने बताए ।
अर्को निर्देशक नरेश बिसीले सुदूरपश्चिम स्तरीय प्रतियोगिता सफल गराउनको लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
अडिसनमा सहभागिताका लागि फारम शुल्क ३०० तोकिको छ । फारमा अडिसन हुने स्थानमै उपलब्ध हुने जनाइएको छ । सुप स्कुल डान्स आईडल संचालनका लागि करिब १० लाख खर्च हुने अनुमान गरिएको आयोजनकले जनाएको छ ।

















