अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा नेपाली सेनाले सार्वजनिक रुपमै आफ्नो दाबी प्रस्तुत गरेको छ । बसपार्क सेनाको नाममा रहेको चर्चा हुने गरेको भएपनि यसअघि सेनाले सार्वजनिक रुपमा त्यसमा आफ्नो दाबी प्रस्तुत गरेको थिएन् । हाल भने तेघरी स्थित नेपाली सेनाको देवीदल गणले बसपार्कमा ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’ लेखिएको बोर्ड टासेर आफ्नो दाबी पेस गरेको हो ।
यसअघि नेपाली सेनाले अत्तरियाको पुर्व रोडमा गत बर्ष आफ्नो दाबी सहितको बोर्ड लगाएको भएपनि बसपार्कमा भने पहिलो पटक आफ्नो दाबी सार्वजनिक रुपमा प्रस्तुत गरेको छ । अत्तरिया बजार क्षेत्रमा पर्ने बसपार्क लगायत अत्तरियाको पूर्व रोड बनखेतदेखि पहाड रोड लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाको नाममा भएपनि भोगाधिकार भने गोदावरी नगरपालिका, बिभिन्न संघसस्था र स्थानीयले गरिरहेका छन ।

राजा ज्ञानेन्द्रको शासनकालमा सेनाको नाममा नामसारी गरिएको भनिएको उक्त जग्गा हाल भोगचलनमा रहेकै नाममा गर्नुपर्ने बहस चलिरहेको बेला सेनाले आफ्नो सार्वजनिक रुपमै दावी गर्नुलाई भने चासोका रुपमा हेरिएको छ । अहिले गोदावरी नगरपालिका मातहतमा रहेको अत्तरिया बसपार्कबाट नगरपालिकाले बार्षीक ठेक्का प्रक्रिया मार्फत सेवा शुल्क उठाउँदै आएको छ ।
नगरपालिकाले बसपार्क संचालन गरिरहेकै अवस्थामा सेनाले बोर्ड राखेपछि लाखौं लगानी गरिएको बसपार्कको भबिष्यका बारेमा अन्योल सृजना भएको छ । अत्तरिया बसपार्क तत्कालिन सुदूरपश्चिम यातायात व्यवसायी समितिको २५ लाखको लगानीमा निर्माण भएको थियो । अत्तरियामा बसपार्क नहुँदा यस क्षेत्रको सर्वपक्षिय भेलाले सो क्षेत्रमा बसपार्क सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले तत्कालिन समितिले २५ लाखको लागानीमा बसपार्क निर्माण गरेको भएपनि सो रकम समेत फिर्ता नभएको बताए ।

उनले बसपार्क निर्माणका लागि बसपार्क व्यवस्थापन समिति स्थापना गरिएको भएपनि पछि उक्त समितिले रकम संकलन गरेर फिर्ता दिने गरी तत्कालिन सुदूरपश्चिम यातायात समितिले बसपार्क निर्माणका लागि लगानी गरेको बताए । बसपार्क निर्माणका समयमा सेनाले आफ्नो नाममा भएको कुनै दाबी नगरेको भएपनि बसपार्क निर्माण पछि केही बर्ष अगाडी मात्रै सो जग्गा सेनाले दाबी गरेको उनले बताए । तत्कालिन बसपार्क ब्यवस्थापन समितिका अध्यक्ष गोकर्ण भट्टले २०६७÷०६८ मा तत्कालिन सुदूरपश्चिमाञ्चल ट्राफिक प्रहरी प्रमुख प्रमोद खरेलको अगुवाईमा बसपार्क निर्माण गरिएको बताए । उनले अत्तरियामा सडक किनारामा सवारी साधन पार्कीङ गर्नुपर्ने समस्याको समाधानका लागि तत्कालिन समयमा बजार नजिकको खालि क्षेत्रमा ग्राबेल भरान गरेर बसपार्क निर्माण गरिएको बताए ।
‘तत्कालिन समयमा बसपार्क निर्माणका क्रममा पनि सेनाले कुनै जानकारी गराएन । अहिले संकटकालको समयमा सेनाले सो जग्गा आफ्नो नाममा लिएको भन्ने कुरा आएको छ’ उनले भने ‘तत्कालिन समयमा जानकारी आएको भए त्यहाँ बसपार्क बनाउने थिएनौ ।’
उनले बजार क्षेत्रमा सेनालाई जग्गाको आवश्यकता नै नभएको बताए । उनले संकटकालको समयमा इलाका प्रहरी कार्यालय मालाखेतीको पछाडीको भागमा सेना पाल टाँगेर बसेको हुनाले सो क्षेत्र सेनाका नाममा गएको हुनसक्ने बताए ।
उनले भने ‘शाही शासनमा भएका निर्णय बदर हुने भनेपनि सोही समयमा अत्तरियाको जग्गा सेनाका नाममा हुने निर्णय स्वतः बदर हुनुपर्ने भएपनि हाल सम्म पनि सेनाले दाबी गर्नु उपयुक्त होइन ।’ गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले आफू निर्वाचित भएपछि बिभिन्न चरणमा उक्त जग्गाका बारेमा सेनासंग छलफल भएपनि टुङ्गोमा पुग्न बाँकी रहेको बताए ।
उनले स्थानीय स्तरमा आफूहरुले बिभिन्न विकल्पका बारेमा छलफल गरेपनि यसको टुङ्गो भने केन्द्र स्तरबाट मात्रै लाग्ने बताए । हाल काठमाण्डौंमा रहेका मेयर भट्टले बसपार्क लगायत अत्तरिया बजार क्षेत्रमा सेनाको नाममा रहेको जग्गाका बिषयमा छलफल गर्न आइतबार प्रधानमन्त्री शेर बहादुर देउवा संग आफूले कुराकानी गर्ने बताए ।
सम्बन्धित समाचार : अत्तरियामा सेनाको जग्गा बिवादका विषयमा छलफल थालियो


















