अत्तरिया – कैलालीको अत्तरिया बजारको मुख्य क्षेत्र नेपाली सेनाको नाममा छ । अत्तरियाको पूर्व रोड वनखेतदेखि पहाड रोड अत्तरिया बसपार्क, लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेना नाममा छ ।
बजार क्षेत्रका मुख्य भूभाग नेपाली सेनाको नाममा भएपनि सेनाको भोगचलनमा भने छैन । तत्कालिन राज ज्ञानेन्द्रको शासन कालमा २०६१ सालमा उक्त क्षेत्र नेपाली सेनाको नाममा राखिएको भनिएपनि सो भन्दा अगाडी नै उक्त क्षेत्र स्थानीयको भोगचलनमा रहेको बताईदै आएको छ ।
गोदावरी नगरपालिकाले सोही जग्गामा बसपार्क निर्माण गर्ने योजना बनाएपछि मात्रै उक्त क्षेत्र सेनाको नाममा रहेको खुलेको थियो । सोही जग्गामा करिब ६१ घरधुरी स्थानीयको समेत परेपछि स्थानीयले सेनाको जग्गा अतिक्रमण गरेका हुन वा सेनाले स्थानीयले भोगचलन गरेको जग्गा आफ्नो नाममा गरको हो भन्ने बिषय स्पष्ट हुन सकेको छैन ।
सोही विवादलाई सुल्झाउनका लागि पटक पटक छलफल भएपनि समस्या सामाधान हुन नसकेको परिपेक्षमा गोदावरीका नवनिर्वाचित मेयर बिरेन्द्र भट्टले पनि यसमा चासो देखाएका छन ।
सोमबार नेपाली सेनाको देवीदल गण तेघरीका गणपति सुनिल कुमार मल्ल र गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट बिच उक्त बिषयमा छलफल भएको थियो । लामो समयदेखि विवादमा रहेको सो जग्गा नगरपालिकाले आफ्नो मातहतमा ल्याएर बसपार्क लगायतका संरचना बनाउन चाहेको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टले सेनाले जो जग्गा आफ्नो नाममा गर्नु भन्दा पहिलो बस्ती बसेको बिषयमा सेना संग कुरा राख्दा वहाहरु सकारात्मक देखिएको बताए । ‘जनतासंग आर्मीको रिलेसन बनाएर जानुपर्ने कुरामा वहाँहरु सकारात्मक देखिनु भएको छ । बस्ती हटाउनु हुँदैन भन्ने आसय हामीले वहाँहरुबाट पाएका छौ’ उनले भने ‘अर्कोतिर जग्गा विवादका कारण यस क्षेत्रको विकास नै रोकिन थाल्यो । प्रदेशकै ठूलो बसपार्क बनाउने कुरा काम हुन सकेको छैन ।’
उनले बसपार्क र लामितालको जग्गा सेनाले छोड्नुपर्ने बिषयमा पनि कुरा राखेको बताए । उनले सेनाबाट यसका लागि कागजी प्रक्रिया अगाडी बढाउने बिषयमा सकारात्मक प्रतिक्रिया आएको बताए ।
‘सेनाले सो जग्गाको सट्टामा अन्य ठाउँमा जग्गा मागेको खण्डमा के गर्ने बिषयमा एक पटक सर्वदलिय बैठक बसेर छलफल गर्न आवश्यक देखिएको छ’ उनले भने ‘मैले यस क्षेत्रका सबै दललाई यसका बारेमा जानकारी दिएर छलफल गर्ने वातावरण बनाउँदै छु । नगरपालिकाले पनि यसमा आवश्यक निर्णय लिने छ ।’ उनले आफूहरुले अत्तरियाको विकासको बाधक नेपाली सेना नहुने बिषयमा कुरा राखेको बताए । उनले जग्गा फिर्ता गर्नका लागि मन्त्रिपरिसद्कै निर्णय हुन आवश्यक रहेको बताए ।
देवीदल गण तेघरीका गणपति मल्लले जग्गाका बारेमा के गर्ने भन्ने बिषयमा हेडक्वाटरबाट मात्रै निणय हुने बताए । उनले यस बिषयमा यसअघि २०७८ सालमा पनि छलफल भएर सेना मार्फत हेडक्वाटरमा पत्र पठाइसकिएको बताए ।
‘पत्रमा जति जग्गा भोगचलनमा छ त्यो बराबरको जग्गा नेपाली सेनालाई दिनको लागि प्रक्रियामा जाने कुरा उल्लेख छ’ उनले भने ‘सोही बिषयमा आज पनि छलफल भयो ।
यसका बिषयमा पहिले पनि छलफल भएकाले यसका बारेमा प्राविधिकहरुले हेरेर के गर्ने भन्ने बिषयमा निर्णय हुन्छ । अहिले नै छोड्ने नछोड्ने भन्दा पनि सबै कुरा प्रक्रिया अनुसार हुन्छ ।’ उनले सबै कुराको निर्णय केन्द्रबाट हुने बताए । तत्कालिन समयमा भवानी दल गणले जग्गाका बिषयमा केन्द्रमा पत्राचार गरेको थियो ।