धनगढी– गत वर्ष भित्र्याउने बेला बेमौसमी वर्षाले धानबाली बगाएपछि क्षति बेहोरेका कैलालीका किसानलाई अहिले भने छाडा पशुचौपायाबाट बिउ जोगाउन सकस छ । भजनी नगरपालिका–९ डोङ्गपुरकी सोना चौधरीले भनिन्, ‘लगाएको अन्नबाली सबै भित्र्याउनै पाइँदैन। बन्यजन्तुमात्रै होइनन्, घरपालुवा जनावरलेसमेत अन्नबाली नष्ट गर्दै आएका छन् ।’
स्थानीय किसान अहिले धान खेतीमा जुटेका छन् । भजनी नगरपालिका–९ की चौधरीले पनि धान रोपाइँका लागि आधा कठ्ठा जग्गामा धानको बिउ राखेकी छन् । तर, उनलाई बिउ जोगाउन सकस छ। उनले चारैतिर तारजाली लगाएर धानको बिउ राखेकी छिन् ।

‘यहाँ राति जंगली जनावरहरू आएर हामीले धानबालीमा क्षति पु¥याउँदै आएका छन्,’ उनले भनिन्, ‘विगतमा हामी रातभरी जाग्राम बसेर अन्नबालीको सुरक्षा गर्दै आएका थियौं । यसपालि हामीले तारजालीभित्र धानको बियाड राखेका छौं ।’ सोही वडाका डम्मर दहितले पनि तारजालीभित्र धानको बीउ राखेका छन् । उनले भने, ‘हाम्रो प्रमुख पेसा नै कृषि हो । तर, हामीले वन्यजन्तुबाट धेरै समस्या झेल्नुपरेको छ । यसको समाधानका लागि कसैले पहल गर्दैनन् ।’
उनले रातभरी उठेर वन्य जन्तु भगाउँदै बस्नुभन्दा तारजालीभित्र धानको बियाड राखेको बताए । सोना र डम्मरजस्तै सो वडाका अधिकांश कृषकहरूले अहिले तारजालीभित्र धानको बीउ राखेका छन् । वन्यजन्तुको कोरिडोरका रूपमा रहेको बसन्ता बन क्षेत्रका वन्यजन्तुले आसपासका गाउँमा अन्नबाली सखाप पार्दै आएका छन् ।

नेपाल समय‘पहिले पहिले त यहाँ जंगली हात्तीको बथान पनि आउने गर्दथ्यो। तीन चार वर्ष भयो, अहिले जंगली हात्ती भनेका आएका छैनन’ सोनाले भनिन्, ‘अहिले वन्यजन्तु भन्दा पनि छाडा पशुचौपायाका कारण बढी क्षति भोग्नुपरेको छ ।’
उनले नगरपालिकाले काञ्जी हाउस नबनाउँदा दिनभरी छाडा पशुचौपाया जंगलमा बस्ने र राती खेतबारीमा गई अन्नबालीमा नोक्सानी पु¥याउने गरेको बताइन् ।
भजनीमात्र नभई कैलारी गाउँपालिका वडा नम्बर ७ का कृषकहरूले पनि सोही विधिबाट धानको बीउ संरक्षण गर्नमा जुटेका छन् । कैलारी गाउँपालिका वडा नम्बर ७ छुटकी बसन्तामा बस्दै आएकी सिता चौधरीले तारजालीभित्र धानको बीउ राखेको बताइन । ‘यहाँ हात्ती, बदेल, बाघ लगायतका वन्यजन्तुहरू ओहोर–दोहोर गर्छन् । बन्यजन्तुबाट अन्नबाली जोगाउन तारजालीभित्र धानको बीउ राखेका छौं’ उनले भनिन्, ‘वन्यजन्तुलाई त रोक्न सक्दैनौ तर, आफ्नो खेती, अन्न सुरक्षित राख्न नयाँ–नयाँ तरिका अपनाउँदै आएका छौं ।’
उनी विगतमा समूहहरू भनाई रातभरी वन्यजन्तुलाई खेतबारी पस्न नदिन सक्रिय थिइन् । ‘हात्ती प्रवेश गरे हामीले थाल ठटाउने, आगोको राँको देखाउने, रातभरी ठूला–ठूला आवाज निकाल्ने लगायतका काम गर्थ्यौ,’ उनले भनिन् ‘अहिले बीउ सुरक्षितका लागि यो विधि उचित लागेकोले अपनाएकी हुँ । अहिले रातभरी उठ्नुपर्ने चिन्ता भने हटेको छ ।’ उनले काठको बारबाट पनि अन्नबाली सुरक्षित राख्न नसकिएको बताइन् ।
बसन्ता क्षेत्र आसपासमा वन्यजन्तुले अन्नबालीमा क्षति पु¥याउन लागेपछि कतिपयले कृषि खेती गर्न छोडेको उनी बताउँछन् । उनले भनिन्, ‘हामीले मेहनत गरेर अन्नबाली रोपेका हुन्छौं । वन्यजन्तुले क्षति पु¥याउँदा घाटा भइहाल्छ। त्यसैले कतिपय किसानले अहिले खेती गर्न छोडेका छन्।’ उनले गाउँपालिकाले काञ्जी हाउस सञ्चालन गरी छाडा पशुचौपायाको व्यवस्थापन गर्नुपर्ने माग गरिन् ।


















