काठमाडौं – नेपालमा बर्डफ्लुको संक्रमण बढ्दै जान थालेको छ । नेपालमा पहिलो पटक माघ ११ गते बर्डफ्लु देखिएयता हालसम्म चार प्रदेशमा फैलिइसकेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका १३ जिल्लामा बर्डफ्लु फैलिएको छ । प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।


पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बर्डफ्लु नियन्त्रणमा रहेको भएपछि फैलने क्रम पनि बढीरहेको बताए ।
‘संक्रमण फैलिने अवस्थामा देखिएको छ, संक्रमण देखिएको ठाउँमा परीक्षण, निसंक्रमण र कुखुरा नष्ट गर्ने कार्यलाई तीब्रता दिएका छौं,’ महानिर्देशक तिवारीले भने, ‘बर्डफ्लू नियन्त्रण बाहिर छैन, तर फैलिन नदिन उच्च सावधानी अपनाउनु पर्ने निश्कर्षमा हामी पुगेका छौं ।’
संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।
















