बिकाश सिंह महता/कञ्चनपुर – कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशस्तरिय बृहत यौनिकता शिक्षा विकास बारेमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका १५ देखि ३० वर्षका युवावर्ग, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका हक अधिकार सम्बन्धि कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा निलहिरा समाज र राईट हियर राईट नाउ (एसआरएचआर) युवा र बिबिसी संस्थाले महेन्द्रनगरमा बृहत छलफलका साथै सुझाव संकलन कार्यक्रमको आयोजना गरेको हो ।


बृहत यौनिकता शिक्षा बारेमा जानकारी नभएको हुँदा यसलाई सबैको पहुँचमा पु-याउन र यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य बारेमा युवाहरुमा जानकारी गराउने उद्देश्यका साथ सोमबार कार्यशाला गोष्ठीको आयोजना गरिएको निलहिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले बताईन ।
उनले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदाय (एलजिबिटीक्यू) युवा वर्ग तथा अपाङ्गता भएका महिला लगायतले खेप्नुपरेको समस्याहरुको समाधान तथा यसका आगामी दिनका चुनौतीहरुका बारेमा छलफल गरिएको उनले बताईन ।
छलफलमा सहभागी व्यक्तिहरुबाट यौनिक तथा लैगिंक विषयबारेका सुझाव संकलन गरिएको बताउदै उनले ति सुझावहरुलाई कार्यान्वयनमा ल्याउनुपर्ने तथा आगामी दिनमा थप यस्ता किसिमका कार्यशाला गोष्ठी र कार्यक्रमको आयोजनाको गरिनुपर्ने बताईन ।
छलफलमा सहभागी व्यक्तिहरुलाई यौन तथा प्रजनन स्वास्थ्य बारेमा राईट हियर राईट नाउ (एसआरएचआर) परियोजना युवा संस्थाको तर्फबाट प्रोग्राम अफिसर बिपना श्रेष्ठ र निल हिरा समाजका कार्यकारी निर्देशक ढकालले प्रस्तुतीकरण दिएका थिए ।
१५ देखी ३० वर्षका युवालाई विशेष लक्षित गर्दै पहिलो पटक यस्तो खालको कार्यक्रम आयोजना गरिएको हो ।


















