अत्तरिया – नेकपा एमालेले गोदावरी नगर अधिवेशन उद्घाटन गरेको ४ महिना पुगिसकेको छ । कार्तिक १५ गते एमालले नगर अधिवेशनको भब्य उद्घाटन गरेको थियो । गोदावरी नगरपालिकाको नयाँ नेतृत्व चयनका लागि पहिलो नगर अधिवेशन उद्घाटन गरिएको भएपनि त्यसको ४ महिला बितिक्दा पनि हालसम्म नगर कमिटीको टुङ्गो लाग्न सकेको छैन ।
नगर कमिटी अध्यक्षका लागि वर्तमान अध्यक्ष गोकर्ण भट्ट र सचिव आनन्द भट्टले दावी गरेका थिए । तर, दुवै बिच सहमति हुन नसक्दा लामो समय बितिसक्दा पनि अध्यक्षको टुङ्गो लाग्न नसकेको हो । अध्यक्ष भट्ट पुर्व माओवादी खेमाका हुन भने सचिव भट्ट पुर्व एमाले खेमाका हुन ।

नेकपा विभाजन हुन पूर्व पनि गोकर्ण भट्ट अध्यक्ष र आनन्द भट्ट सचिव रहेका थिए । पछि नेकपा विभाजन भएपनि पुर्व माओवादी खेमाका गोकर्ण भट्ट लेखराज भट्ट संगै एमालेमै रहे । जसका कारण तत्काल एमाले गोदावरी नगरको अध्यक्षमा गोकर्ण भट्टले नै निरन्तरता पाएका थिए । नेकपा विभाजन भएपनि गोदावरीमा भने एमालेभित्र पुर्व माओवादी खेमाको पनि बलियो उपस्थिति रहेको छ ।
तर, केन्द्रमा लेखराज भट्ट पार्टीको १० औं महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएपनि उनकै गृह नगरमा भने पुर्व माओवादी र पुर्व एमाले खेमा विभाजन हुँदा त्यसको असर नगर कमिटी चयनमा परेको छ । हालै सम्मन्न कैलाली जिल्ला अधिवेशनमा पनि दुई खेमा विभाजन भएर चुनावमा गएपछि त्यसले झन दुरी बढाएको देखिन्छ । त्यसले गर्दा पनि गोदावरीको नगर कमिटी चयन गर्न झनै सकस परेको छ ।
तर, नगर सचिव भट्ट भने अध्यक्षमा विवाद नभएर प्राबिधिक कारणले ढिलाई भएको बताए । उनले नगर अधिबेशन पछि केन्द्रिय अधिवेशन र त्यसपछि जिल्ला अधिवेशन गर्नुपर्ने भएकाले ढिलाई भएको बताए । उनले अब माघ २० गते भित्रै नगर कमिटी चुन्ने गरी तयारी थालिएको बताए ।

उनले पार्टीमा अध्यक्षका लागि आफू २ जना मात्रै नभएर अरु पनि योग्य व्यक्ति भएकाले छलफलबाट नेतृत्व चयन गरिने बताए ।
सचिव भट्टले छलफलबाट अध्यक्ष टुङ्याउने भनेपनि बिहिबार गोकर्ण भट्टको अध्यक्षतामा एमाले गोदावरीको नगर कमिटी चयन गर्न माग गर्दै एमालेका ११ वडा अध्यक्षले जिल्ला अध्यक्ष रतन थापालाई ज्ञापन पत्र बुझाएका छन ।
उनीहरुले नगर कमिटी अध्यक्ष नतोकिदा नगरमा पार्टीका काम प्रभावित भएको भन्दै छिटो भन्दा छिटो गोकर्ण भट्टलाई नै अध्यक्ष बनाउन माग गरेका छन ।
ज्ञापन पत्रमा एमाले गोदावरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्मर साउँद, ३ का अध्यक्ष बिरेन्द्र अवस्थी, ४ का अध्यक्ष रबिन्द्र रोकामगर, ५ का अध्यक्ष सुहिराम चौधरी, ६ का अध्यक्ष सन्तोष सिंह, ७ का अध्यक्ष कलावती साउँद, ८ का अध्यक्ष गोविन्द चौधरी, ९ का अध्यक्ष सर्जन ठकुल्ला, १० का अध्यक्ष झंकर कोली, ११ का अध्यक्ष लोक बहादुर कोली र १२ का अध्यक्ष नन्द विकले हस्ताक्षर गरेका छन । विवादकै बिच वडा अध्यक्षहरु नै एक जनालाई अध्यक्ष बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएपछि पार्टीमा झन किचलो थपिएको छ ।
वडामा पनि उस्तै
गोदावरीका ११ वडामा कार्तिक महिनामै वडा अधिवेशन सम्पन भएपनि वडा नम्बर १ मा भने हाल सम्म पनि विवाद टुङ्गिन सकेको छैन । वडामा अध्यक्षका लागि गणेश महरा र महाविर बिकले आ–आफ्नो दावी छोडेका छैनन् ।
वडा नम्बर १ मा यसअघि एक पक्षिय भेलाबाट कार्तिक २२ गते गणेश महराको अध्यक्षतामा वडा कमिटि चयन गरिएको थियो । पछि विवाद आएपछि उक्त भेलाको निर्णय पनि कार्यान्वयनमा आउन सकेको छैन ।

















