खाेज्नुहाेस

गोदावरीमा लाखौं रकम खर्चेर जडान गरिएका ट्युवेल प्रयोगमा आएनन्

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र लाखौं रकम खर्चेर जडान गरेका स्यालो ट्युवेल (पावर डिल) प्रयोग बिहिन भएका छन । भूमिगत जलश्रोत विकास समिति नेपालगंज शाखाले नगरपालिका भित्र १० वटा ट्युवेल जडान गरेको भएपनि ८ वटा ट्युवेल प्रयोगमा आउन नसकेका हुन ।

नगरपालिकाको वडा नम्बर १ मा १ वटा, वडा नम्बर २ मा ४ वटा र वडा नम्बर ४ मा ५ वटा ट्युवेल गत बर्ष नै जडान गरेको भएपनि २ ट्युवेल मात्रै संचालनमा छन ।

attariya hospital

वडा नम्बर ४ मा जडान गरिएको १ ट्युवेल बाहेक ४ वटा प्रयोगमा आउन नसकेको ट्युवेल जडान उपभोक्ता समितिका अध्यक्ष यज्ञ राज जोशीले बताए । उनले वडामा जडान भएका २ ट्युवेलमा पानी नै आउन छाडेको र, २ वटा भने संचालन नै नभएको बताए । उक्त वडामा जडान भएको एक ट्युवेल भने नियमित संचालनमा रहेको छ । त्यस्तै वडा नम्बर २ तेघरीमा जडान भएका ४ वटै ट्युवेलमा भने हालसम्म बिद्युत समेत जडान हुन सकेको छैन । उपभोक्ता समितिका कोषाध्यक्ष दिनेश भट्टले तेघरका ट्युवेल केही दिन भित्रै संचालनमा ल्याइने बताए ।

navjiwan hospital

४ विगा क्षेत्रफलमा सिचाई गर्ने उद्देश्यले गत बर्षको चैत्र महिनामै ट्युवेल जडान गरिएका थिए । भूमिगत जलश्रोत विकास समिति शाखा धनगढीका जिवराज पण्डितले एक ट्युवेल जडान गर्नका लागि ५ लाख खर्च लागेको बताए । उनले ट्युवेल कार्यालयबाट जडान गरिएपनि विद्युत जडान गर्ने, विद्युत घर निर्माणको जिम्मा स्थानीय उपभोक्तालाई दिइएको बताए ।

उनले कार्यालयबाट ट्युवेल जडान गरिएकाले संचालनमा ल्याउन नसक्नु उपभोक्ता समितिकै कमजोरी भएको बताए । उनले भने ‘यसलाई संचालन ल्याउने जिम्मेबारी उपभोक्ता समितिको हो । तर, के कारणले संचालनमा आएनन् हामीले पनि बुझ्छौ । कुनै प्राविधिक त्रुटी भएको भए सुधार गर्छौ ।’

ट्युवेल कैलालीकै चण्डिका मेसिनरिले जडान गरेको थियो । चण्डिका मेसिनरिका संचालक दिनेश भट्टले ट्युवेल जडान गरेपछि एक बर्ष सम्म आफूहरुले मर्मत गर्ने जिम्मा लिएको भएपनि हालसम्म कुनै ठाउँबाट गुनासो नआएको बताए । उनले कुनै समस्या आएमा आफूहरु मर्मत गर्न तयार रहेको बताए ।

१ सय फुट गहिराइमा हालिए उक्त ट्युवेलमा ३ इन्च पाईप जडान गरिएको छ । जडान गर्ने कार्यालयको उदासिनता र उपभोक्ताको लापरवाहीले ट्युवेल प्रयोगमा नआउँदा राज्यको भने लाखौं रकम खेर गइरहेको छ ।

वडा नम्बर ४ की जानकी जोशीले आफ्नो खेतमा जडान गरेको ट्युवेल सुरुदेखिनै पानी नआएको बताईन् । ‘साझा ट्युवेल भएपनि आफूलाई पनि सुबिधा होला भनेर ट्युवेल गाड्न जग्गा दिएकी थिए’ उनले भनीन् ‘१ बर्ष भयो पानी आएको छैन ।’ उनले ट्युवेलका लागि घर–घर बाट पैसा पनि उठाएको बताईन् ।