खाेज्नुहाेस

कती पुगे गोदावरीमा कोरोना संक्रमित ?

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । नगरपालिकामा पछिल्लो ७ महिना यताकै धेरै संक्रमित माघ महिनाको पहिलो सातामै फेला परिसकेका छन ।जेठ महिनामा नगरपालिकामा ३ सय ७७ जनामा संक्रमण पुष्टि भएपनि असार देखि संक्रमितको संख्या घट्दै गएको भएपनि पुस अन्तिम साताबाट संक्रमितको संख्या बढ्दै गएको छ ।

गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो १ सातामा मात्रै नगरपालिकामा ६३ कोरोना संक्रमित थपिएका छन । जसमा पीसीआर बिधिबाट गरिएको कोरोना परिक्षणमा ३३ र एन्टिजेन बिधिबाट गरिएको कोरोना परिक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए ।

attariya hospital

एन्टिजेन बिधिबाट नगरपालिका कार्यालय परिसरमै ६० जनाको परिक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो भने पीसीआर बिधिबाट थपिएका संक्रमितको तथ्याङ्क सेती प्रादेशिक अस्पतालबाट उपलब्ध भएको जनाइएको छ । स्वास्थ्य शाखा प्रमुख अवस्थीका अनुसार बुधबार मात्रै एन्टिजेन बिधिबाट गरिएको कोरोना परिक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

सीमाबाट आएकाहरुको तथ्याङ् छैन

स्वास्थ्य शाखाले आफैले परिक्षण गरेका र सेतीबाट आएकाहरुको तथ्याङ्क राखेको भएपनि सीमानाकाबाट कती संक्रमित आए भन्ने तथ्याङ्क राखेको छैन । स्वास्थ्य शाखा प्रमुख अवस्थीले सीमाबाट आएकाहरुको विवरण र संक्रमितको विवरण आफूहरुले नराखेको बताए । ‘संक्रमित भए सीमामै होल्डिङ सेन्टरमा राखिन्छ । कुनै घर आएपनि वडाको सिफारीसमा आएका होलान’ उनले भने ‘वडाले आउन सिफारिस दिएको भए भारतबाट आएका संक्रमित होम आइसोलेसनमा बसेका होलान । त्यसको बारेमा वडाहरुमै बुझ्नु पर्छ ।’

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्ने हो भने पनि हाल प्रदेशमा थपिएका संक्रमित मध्ये आधा बढी भारतबाट आएका संक्रमित भएकाले गोदावरीमा नगरपालिकाले राखेको तथ्याङ्क भन्दा निकै बढी संक्रमित हुन सक्ने देखिन्छ ।

navjiwan hospital

पहिलो र दोेस्रो लहरको कोरोना संक्रमणका क्रममा नगरपालिकाले भारतबाट आएकाहरुलाई आइसोलेसन र क्वारेन्टाइन राख्ने गरेको थियो । तर, यसपटक भने तथ्याङ्क समेत नराखिदा संक्रमण समुदायमा फैलने खतरा बढेको छ । स्वास्थ्य शाखा प्रमुख अवस्थीले हाल मालाखेतीमा पहिले देखि रहेको १५ बेडको आइसोलेसन बाहेक अन्य ठाउँमा संक्रमित वा बिरामी राख्ने कुनै ठाउँ नबनाइएको बताए ।

उनले हाल नगरपालिकामा देखिएका संक्रमितमा कुनै पनि जटिल समस्या नदेखिएकाले मालाखेतीमा भएको आइसोलेसन पनि खाली रहेको र संक्रमित भएका सबै होम आइसोलेसनमा बसेको बताए ।

४२ हजार बढीले लगाए पूर्ण खोप, बुस्टर डोज पनि लगाइदै

नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार हालसम्म नगरपालिका भित्र रहेका झण्डै ४२ हजार बढी नागरिकले पुर्ण खोप पाइसकेका छन । स्वास्थ्य शाखा प्रमुख अवस्थीले १८ बर्ष उमेर माथिका ४२ हजार ९ सय ८४ जनाले कोरोना खोपको दुवै मात्रा लगाएको बताए ।
त्यस्तै खोपको पहिलो मात्रा मात्रै लगाएका नागरिकको संख्या ३ हजार १ सय ७९ रहेको छ । नियमित खोप कार्यक्रम हाल पनि जारी रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बुधबार देखि कोरोना रोग विरुद्धको खोप अभियान अन्तरगत बुस्टर डोज (कोभिसिल्ड) लगाउन सुरु गरेको जनाएको छ । असार महिना भित्र खोपको दुवै मात्रा लगाएकालाई बुस्टर डोज लगाउन लागिएको हो ।

बुस्टर डोजमा स्वास्थ्यकर्मी, संचारकर्मी, महिला स्वास्थ्य स्वंय सेविका, सुरक्षाकर्मी, सरसफाइकर्मी र असार महिना सम्ममा दोस्रो डोज लगाएका जेष्ठ नागरिकलाई समिटिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

उनले नगरपालिकाद्धारा १ हजार १ सय २० जनालाई बुस्टर डोज लगाइने बताए । बुस्टर डोज माघ १३ गते सम्म लगाइने जनाइएको छ । गोदावरी भित्र रहेको सशस्त्र प्रहरी बाहिनी र नेपाली सेनाका लागि भने छुट्टै बुस्टर डोजको व्यवस्था गरिएको छ । नगरपालिकाले मालाखेती अस्पतालबाट बुस्टर डोज लगाउन सुरु गरेको भएपनि अन्य स्वास्थ्य केन्द्रबाट पनि खोप लगाइने जनाइएको छ ।