अत्तरिया – कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्न थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासनहरुद्धारा आदेश जारी गर्न थालिएको छ । सरकारले नै परिस्थिति अनुसार मापदण्डमा कडाइ गर्न र लकडाउन सम्मका आदेश दिने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि सोही अनुसार आदेश जारी हुन थालेका हुन । यसअघि तिव्र गतिमा फैलिरहेको कोरोना रोकथामका लागि स्थानिय प्रशासनहरुले नै आदेश जारी गर्दै आएका थिए । करिब ६ महिना पनि पुनः सोही नियती दोहरीएको छ ।
अहिले नै स्थानिय प्रशासनहरुले लकडाउन नै नलगाएका भएपनि कोरोना रोकथाम र नियन्त्रण लागि सुदूरपश्चिमका अधिकांस जिल्लाहरुले बुधबार राती देखि नै लागु हुने गरी आदेशनात्मक निर्देशन जारी गरिसकेका छन । अहिले जारी गरिएका आदेशमा माध्यमिक तहका बिद्यालय बन्द गर्ने बाहेक अरु नियमित गतिबिधिमा मापदण्ड तोकिएको भएपनि रोक भने लगाइएको छैन । हाल स्वास्थ्य मापदण्ड पालना गराउन जारी गरिएका आदेश पालना नभए वा कोरोना संक्रमण फैलिन क्रम नरोकिएमा भने लकडाउन सम्मको आदेश आउन सक्ने संकेत हालका आदेशले दिएका छन ।

बुधबार जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीसीएमसीसीको सिफारिस र गृह मन्त्रालयको पत्र अनुसार जिल्लामा १२ बुँदे मापदण्ड जारी गरिएको उल्लेख छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी आदेशमा बुधबार राती १२ बजे देखि लागु हुने गरी २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ । यस्तै सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यान लगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने मापदण्ड जारी गरिएको छ ।

आदेशमा सबै आधारभूत तथा माध्यमित विद्यालयहरु माघ १५ सम्म शिक्षा मन्त्रालयको सूचना अनुसार बन्द गर्ने र विश्वविद्यालय, क्याम्पस, लगायतका सबै प्रकारका शैष्कि प्रतिष्ठानका पूर्वनिर्धारित सेमेष्टर र बार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी जेड आकारमा बसाएर गर्नुपर्ने मापदण्ड जारी गरिएको छ ।
आदेशनुसार घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरेको छ ।
यस्तै सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ । जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ । अक्सिजन सिलिण्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिण्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ । सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय कञ्चपुरले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि १२ बुदे मापदण्ड जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बुधबार एक सूचना जारी गर्दै कोरोना लक्षित नयाँ मापदण्ड लागु गरेको आदेश जारी गरेका हुन । जस अनुसार जिल्लामा हुने जुलुस, धर्ना, भेला महोत्सव तथा सामाजिक कार्यमा २५ जना भन्दा बढी भेला हुन पाइने छैन । त्यस्तै १२ वुदे मापदण्डमा मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, माघ ७ पछि सार्वजनिक स्थलमा खोप कार्य अनिवार्य गर्न, माघ १५ सम्म आधारभूत तथा माध्यमिक विद्यालय बन्द गर्न, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानमा सुरक्षाका मापदण्ड लागु गर्न भनिएको छ । सूचनामा स्थानीय तहलाई आईसोलेशन तयारी अवस्थामा राख्न, सवारी साधनमा सिट क्षमता भन्दा बढी सवारी साधन नराख्न भनिएको छ ।
बुधबार नै जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, डोटी बैतडी लगायतका प्रशासनले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कैलाली, कञ्चनपुरकै प्रकृतिका आदेश जारी गरेका छन ।

















