खाेज्नुहाेस

सुदूरपश्चिमका सीमा नाकामा उच्च सतर्कता

Image

बैतडी – सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि भारतसँग जोडिएका नाकामा कडा निगरानी गर्न थालिएको छ ।

हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना पुष्टि हुन थालेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीबार मात्रै सुदूरपश्चिम प्रदेशमा १२० जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि साताको पहिलो दिन आइतबार पाँच, सोमबार २८, मङ्गलबार ४० र बुधबार ५५ जनामा कोरोना पुष्टि भएको थियो ।

attariya hospital

बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको हो । भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायत सहरमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या पनि बढिरहेकाले यहाँ ‘ओमिक्रोन’ को उच्च जोखिम रहेको बताइएको छ ।

साथै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । सीमा नाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत् परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

navjiwan hospital

’जोखिम रोक्नका लागि सीमामै परीक्षण गर्ने गरिएको र पोजिटिभ आएकालाई होम आइसोलेसन राख्ने गरिएको छ,’ भट्टले बताए । यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीले यातायात, विद्यालय र भीडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न भनेको छ । ओमिक्रोनको जोखिम रहेकाले कोरोनाविरुद्धको खोप अभियान तीव्र रुपमा अघि बढाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

उनले भने, ’सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेकाले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध मिलाइएको छ ।’ यसका साथै ओमिक्रोन रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियान पनि बढाइएको छ । यस प्रदेशमा हालसम्म ५० प्रतिशत बढीले खोप पाइसकेका छन् । साथै सीमा नाकामा प्रभावकारी ढङ्गले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा सबल व्यवस्थापनका लागि स्वास्थ्य टोली खटाइएको छ ।

भारतसँग खुल्ला सीमा नाका भएका कारण सङ्क्रमण नियन्त्रणमा केही चुनौती रहेको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म चार लाख ३५ हजार ७२५ जनाको कोरोना परीक्षण गरिएकामा ४८ हजार ५१९ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६१४ जनाको ज्यान गइसकेको छ ।

यस प्रदेशका विभिन्न आठ प्रयोगशाला मार्फत् पीसीआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टीजेनमार्फत् पनि परीक्षण कार्य जारी छ । यहाँका सबै जिल्लामा गरेर ३९२ आइसोलेसन शैय्या, १३४ एचडियू, १२६ कोभिड एचडियू, ६३ आइसियू, ४८ कोभिड आइसियू शैय्या, ४५ भेन्टिलेटर र २६ कोभिड भेन्टिलेटर तयारी अवस्थामा राखिएका छन् ।

प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान पनि जारी छ । प्रदेश सरकारले सबैलाई खोप लगाउन पनि आग्रह गरेको छ ।