खाेज्नुहाेस

छाडा गाईगोरु ब्यवस्थापनको माग गर्दै गोदावरीका मेयरको कार्यकक्ष घेराउ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र रहेका छाडा गाईगोरुको ब्यवस्थापन गर्न माग गर्दै स्थानियले मेयरको कार्यकक्ष घेराउ गरेका छन । बुधबार वडानम्बर ३ का स्थानियले छाडा गाईगोरुका कारण गहुँबाली सखाप हुन लागेको भन्दै व्यवस्थापन गर्न माग गरेका हुन ।

छाडा गाईगोरुले रातीको समयमा गहुँबाली खान थालेपछि खेतै खाली हुँने अवस्था आएको उनीहरुको गुनासो छ । चौकिडाँडाँकी राधिका बिकले छाडा गाईगोरुका कारण रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको बताईन् । ‘खेतमा भएको सबै गहुँ गाईले खाएपछि नगरपालिकाले ब्यवस्थापन गरिदिन्छ की भनेर आएका हौ’ उनले भनीन् ‘वडामा गाईगोरु थुन्ने खोरी बनाएको भएपनि त्यो खोरीबालाले पनि बाहिर निकालिदिन्छ । हामीले भित्र के खुवाउने हामीलाई कसले तलब दिने हो भनेर रिसाउँन्छन् ।’

attariya hospital

उनले खोरी भएकाले अन्य गाउँबाट पनि मानिसहरुले गाइगोरु ल्याएर छोड्ने गरेको बताईन् । ‘यस्तो चिसोमा राति खेतमा गएर गाई भगाउनु पर्छ’ उनले भनीन् ‘हाम्रो गाउँमा खोरी छ भनेर अरु गाउँमा मान्छेले पनि खोरीमा हालिहाल्लान भनेर गाउँमा गाईगोरु छोड्ने गरेका छन । हामीले यस्तो चिसोमा रातभर कति कुर्ने ।’ १० कट्टा जग्गामा गहुँ खेती गरेकी उनले सबै गहुँ गाईगोरुले खाएको बताईन् ।

स्थानिय रतना धामीले नगरपालिकाले छाडा गाईगोरुको व्यवस्थापन गर्नुपर्ने त्यो नसले आफ्नो खेतमा तारबार हाल्न पैसा दिनुपर्ने बताईन् । उनले गाउँमा ४०/५० गाईगोरु गहुँ खान खेतमा आउने गरेको बताइन् । ‘रातभर पैरा (पहरा) बसेर पनि गाईले गहुँ खाइहाल्छन’ उनले भनीन ‘गाउँले सबैले पालोपालो खेतमा कुर्नु पर्छ ।’

स्थानिय नन्दराज कैनीले गाईगोरुका कारण रातभर राम्रो संग सुत्न नपाएको बताए । ‘रातको ३ बजे आएर पनि गाईगोरुले गहुँ खाइदिन्छन । जति धपाए पनि गाईगोरु खेतमा आइहाल्छन’ उनले भने ‘रात भागदैडमै बित्ने गर्छ ।’

गौशाला लथालिङ्ग

navjiwan hospital

वडा नम्बर ३ मै छाडा गाईगोरुको व्यवस्थापन गर्ने भन्दै गौशाला निर्माण गरिएको भएपनि त्यो लथालिङ्ग बनेको छ । स्थानियले राधाकृष्ण गौ सेवा संरक्षण समिति मार्फत गौशाला संचालन गरिएको भएपनि आर्थिक अभावमा गौशाला लथालिङ्ग बनेको हो । गाईगोरुलाई खुवाउने घाँस र राख्ने ठाउँको अभाव भएको भन्दै गौशाला भित्र भएकै गाईगोरु पनि बाहिर छोडिने गरेको स्थानियको आरोप छ ।

समितिका सचिव गणेश सार्कीले आफूहरुले छाडा गाईगोरुको व्यवस्थापन गरेको भएपनि चिसोका कारण छानो नहुँदा गाईगोरु राख्न समस्या भएको बताए । उनले गौशाला वरिपरी तारबार पनि नभएकाले भित्र राखिएका गाईगोरु पनि बाहिर जाने गरेको बताए ।

उनले ४ सय जति गाईगोरु गौशालामा राखिएको भएपनि छानो, तारबार र रेखदेख गर्ने कर्मचारीका लागि नगरपालिका संग सहयोग मागेको भएपनि बेवास्ता गरिएको बताए । ‘गत बर्ष नगरपालिकाले ३ लाख ९० हजार दिएको थियो । त्यसबाट हामीले चारो खाने टुल बनायौ’ उनले भने ‘गौशालामा ७ जना कर्मचारी राखिएको भएपनि आर्थिक अवस्था कमजोर भएकाले तलब पनि दिन सकिएको छैन ।’

उनले तारबारको राम्रो व्यवस्थापन नहुँदा भित्र राखिएका गाईगोरु आफै बाहिर निस्कने गरेको बताए । उनले नगरपालिकामा चिसोका लागि टहरा निर्माण र हेरालुको तलब व्यवस्था गरिदिन माग गरेको बताए । ‘हामीले गौशालालाई सहयोग गरिदिन माग गर्दै प्रस्ताव पनि पेश गरेका थियौ’ उनले भने ‘तर, त्यो प्रस्ताव कार्यपालिका बैठकमा राख्ने भनेपनि सुनुवाई भएन । अब भोली आउनुस् सनुवाई हुन्छ भनेका छन ।’

२ बर्ष अगाडी स्थापना भएको गौशालमा काम गर्ने कर्मचारीले पनि २ बर्षदेखि नै तलब नपाएको गुनासो गरेका छन । गौशालाका हेरालु दिलु बादीले नगरपालिकाले बजेट दिएपछि तलब दिन्छु भनेर समितिले टार्ने गरेको बताए ।

‘बिभिन्न ठाउँबाट गोरु दैनिक जसो थपिने गरेका छन । आज पनि बिभिन्न वडाबाट गोरु ल्याएर आएका थिए । हामीले ति गोरु राख्न सक्दैनौ भनेपछि स्थानियले नगरपालिका घेराउ गरे’ उनले भने ‘१२ वटै वडाका गोरु हाम्रोमा आउँन्छन । तर, नगरपालिकाले एक चोटी हेर्न पनि आउँदैन । हामीले बिना सेवा सुविधा कहिले सम्म काम गर्ने ।’ उनले पछिल्लो समय समितिका पदाधिकारी पनि गौशालामा हेर्न नआउने गरेको बताए ।

बुधबार मेयरको कक्ष घेराउ गर्न आएका स्थानिय संगै आएका गौशालाका पदाधिकारी र कर्मचारीलाई नगरपालिकाले सहयोग गर्ने जनाएको थियो । गौशालालाई के कती सहयोग गर्ने भन्ने बारेमा भने टुङ्गो नलागेको मेयरको सचिवालयले जनाएको छ ।

२०७४ सालमा भएको स्थानिय चुनावमा छाडा गाईगोरु व्यवस्थापनको मुद्दालाई प्राथमिकतामा राखिएको भएपनि अहिले जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा पनि यो समस्या समाधान हुन सकेको छैन ।