खाेज्नुहाेस

गोदावरीमा राष्ट्रिय परिचय पत्रका लागि ह्वातै भीड बढ्दा व्यवस्थापना समस्या

Image

अत्तरिया – राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्नेको ह्वातै भीड बढेपछि व्यवस्थापनमा समस्या भएको छ । तोकिएको समय घर्किनै लाग्दा एकैचोटी भीड बढेपछि गोदावरी नगरपालिका – १ मा भीड व्यवस्थापनमा समस्या भएको हो । नगरपालिकाले पुस ५ गतेदेखि राष्ट्रिय परिचय पत्रको लागि तथ्याङ्क संकलनको काम सुरु गरेको थियो । तर, सुरुमा परिचय पत्रका लागि विवरण भर्नेको संख्या न्यून रहेको भएपनि पछिल्लो ३ दिन यता भने भीड बढेको छ ।

विवरण भराउनको लागि वडामा आएका स्थानिय गोपाल नाथले सुरुमा जानकारी नहुँदा सोमबार मात्रै परिचय पत्र बनाउन वडामा पुगेको बताए । सोमबार विवरण टिपाउन आएका उनले भिडमा पालो नआउँने देखेपछि घर फर्केका थिए । वडा कार्यालयमा हाल ६ जना कम्प्युटर अपरेटर विवरण संकलन गरिरहेको भएपनि एक जनाले दैनिक औषतमा ४० जनाको मात्रै विवरण संकलन गर्न सक्ने भएकाले धेरै जना रितै हात फर्किनु परेको छ ।

attariya hospital

वडा सचिव कुन्ता भण्डारीले दैनिक २ सय ४० जनाको विवरण संकलन भइरहेको बताईन् । उनले भीड बढेपछि कर्मचारी थपिएको भएपनि एकैचोटी भीड बढेकाले आएका सबैको विवरण लिन समस्या भएको बताइन् । ‘सुरुमा हामीले दिन तोकेर टोल छुट्याएका थियौ । सुरुमा निकै कम मानिस आए’ उनले भनीन् ‘अहिले लास्टतीर एकैचोटी धेरै मानिस आउँदा आपत बढेको छ ।’

उनले विवरण भर्न आउने मान्छे बढी आएपछि सबैको विवरण भर्न समस्या भएको बताईन । वडामा अहिले ३ जना रुजु अधिकारी र ५ जना फारम भर्ने सहयोगी रहेका छन । वडा सचिव भण्डारीले जिल्लाबाट ३ जना मात्रै तोकेको भएपनि भीड बढेपछि खाजा खर्च कटैती गरेर भएपनि थप २ जना राखेको बताइन् । उनले वडामा हालसम्म २ हजार ९ सय जनाको विवरण संकलन भएको र अझै ११ सय मानिस थपिन सक्ने बताइन् । वडाले राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्ने म्याद पुस २१ गते सम्म तोकेको छ ।

navjiwan hospital

पुस ८ गतेदेखि विवरण संकलन सुरु भएको वडा नम्बर ४ मा पनि भीड बढेपछि वडाले टोकन प्रणाली लागु गरेको छ । वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले भीड बढेपछि पहिले आउने २ सय जनालाई टोकन वितरण गरेर विवरण संकलन गरिरहेको बताए ।

उनले भीड व्यवस्थापनका लागि टोकन प्रणाली लागु गरेपनि विद्युत जाने समस्याले काम गर्न समस्या भएको बताए । ‘आज पनि ३ चोटी बिद्युत गयो । जसले गर्दा फारम भरेका मानिस पनि फोटो खिच्नका लागि लाईनमा बस्नुपर्ने बाध्यता भयो’ उनले भने ‘त्यसले पनि भिड बढेको जस्तो देखिएको छ ।’

उनले वडाको जनसंख्या धेरै भएकाले अपरेटर बढाइदिन माग गरेपनि सुनुवाई नभएको बताए । उनले २२ गते सम्म म्याद रहेकोमा अहिले सम्म १६ सय जनाको मात्रै विवरण भरिएको बताए । ‘वडामा ४६ सय जनाको विवरण भर्नुपर्ने देखिएको छ’ उनले भने ‘यही गतिमा सबैको विवरण भर्न नसकिने भएकाले म्याद थप गर्नको लागि मैले जिल्लामा अनुरोध गरेको छु ।’

गोदावरी नगरपालिकामा सबैभन्दा पहिले विवरण संकलन सुरु गरिएको वडा नम्बर ९ मा भने पछिल्लो २ दिन यता भिड कम भएको जनाइएको छ । वडामा मंसिर २७ गते देखि विवरण संकलनको काम सुरु गरिएको थियो । सुरुमा निकै भीड भएपनि पछिल्ला दिनमा मानिसहरु निकै कम आउने गरेको वडा सचिव गणेश दहालले बताए । उनले हालसम्म २६ सय जनाको विवरण संकलन भएको र बाँकीको विवरण संकलन गर्न शुक्रबार सम्म म्याद राखिएको बताए ।

अहिले गोदावरीका १२ वटै वडामा बिवरण संकलनको काम जारी रहेको छ । विवरण संकलन पछि नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औठा) छाप सहितको स्मार्ट कार्डजस्तो राष्ट्रिय परिचयपत्र वितरण हुने बताइएको छ । कैलालीमा भने विवरण संकलन गरेपछि राष्ट्रिय परिचय पत्र वितरण गर्न कम्तिमा १ बर्ष लाग्ने जनाइएको छ ।