अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा रहेको गोदावरी धाममा तटबन्धन निर्माण गरिएको छ । युएसआइडीको आर्थिक सहयोग र गोदावरी नगरपालिकाको समन्वयमा गोदावरी धाममा १ सय ५० मिटर नदी कटान रोकथामका लागि तटबन्ध निर्माण गरिएको हो ।
युएसआइडीका इन्जिनियर दिपक राज भट्टले युएसआइडीको तयार नेपाल – विपद् जोखिम व्यवस्थापन परियोजना अन्तरगत तटबन्ध निर्माण गरिएको बताए । ‘गोदावरी नगरपालिका संगको पाटनरसिपमा तयार नेपाल प्रोजेक्ट चलिरहेको छ’ उनले भने ‘यसको मुख्य उद्देश्य लेफ्ट साइडको बस्ती जोगाउने हो ।’

तटबन्धन निर्माणका लागि ४९ लाख ९६ हजार १ सय ३० रुपैयाँमा जोशी बिल्डर्स संग ठेक्का सम्झौता गरिएको थियो । जसअन्तरगत जाली सहितको तटबन्ध निर्माण गरेर तटबन्धको माथि नदी नियन्त्रणका लागि विभिन्न प्रकारका वनस्पतीका बिरुवा समेत रोपिएका छन । जसमा बास, अम्बिसो, सिसौ, खयर लगायतका ९/१० किसिमका बिरुवा रोपिएको जोशी बिल्डर्सका सब इन्जिनियर देवेन्द्र ताम्राकारले बताए । जुन २०२१ देखि सुरु भएको परियोजनाको म्याद डिसेम्बर सम्म तोकिएको थियो । सब इन्जिनियर ताम्राकारले सम्झौता अनुसारको सम्पुर्ण काम अवधि भित्रै सम्पन्न भइसकेको बताए ।


गोदावरी धामका अध्यक्ष पदमराज जोशीले तटबन्धको काम राम्रो गरिएको भएपनि त्यो पर्याप्त नभएको बताए । उनले गोदावरी धाम संरक्षणका लागि करिब १ किलोमिटर तटबन्ध आवश्यक पर्ने बताए । ‘यो तटबन्ध पर्याप्त छैन । अहिले पारी पट्टिको मुख्य धाम पनि जोखिममा छ’ उनले भने ‘तटबन्ध पर्याप्त नभएपनि राम्रो कामको सुभारम्भ भएको छ । यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ ।’ गोदावरी नदीमा बर्षातमा ठूलो बाढी आउने भएकाले यसको संरक्षणका लागि नदीलाई सिधा हुने गरी पुरै धाम क्षेत्रमा तटबन्ध गर्न आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ ।
गत बर्ष आएको बाढीले गोदावरीको मुख्य धाम रहेको क्षेत्रको पुरानो तटबन्धन समेत भत्किएकाले मन्दिर जोखिममा परेको छ । तर, गोदावरी धामको संरक्षण र विकासका लागि गोदावरी नगरपालिका मार्फत डिपिआर बनिसकेको भएपनि काम अगाडी बढ्न सकेको छैन । अध्यक्ष जोशीले अहिले जहाँ जति रकम पायो त्यति काम गर्ने प्रवृती कायमै रहेकाले यसको समग्र विकास हुन नसकेको बताए । ‘यो धार्मीक र पर्यटकिय क्षेत्र पनि भएकाले यसको संरक्षणका लागि एकिकृत रुपमा डिपिआर अनुसार काम गर्न आवश्यक छ’ उनले भने ‘यस क्षेत्रमा धेरै संरचना बने पनि ति सबैको संरक्षण गर्न पनि एकिकृत कार्यक्रम आवश्यक छ ।’
गोदावरी धाममा २०७२ सालमा अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला लागेपछि यसको विकासले व्यापकता पाएको थियो । यहाँ सुदूरपश्चिम लगायत भारतबाट पनि दर्शनार्थी आउने गरेका छन । तर विगत २ बर्ष देखि कोरोना महामारीका कारण यहाँ आउने बाह्य दर्शनार्थी तथा पर्यटकको संख्यामा कमी आएको छ ।
यस बर्ष गोदावरीमा माघ १ गते देखि अर्धकुम्भ मेला लाग्ने भनिएपनि नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिने त्रास बढेसंगै यसको टुङ्गो लाग्न सकेको छैन । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेल्धुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरी मध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ ।
वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्व ठूलो रहेको छ । यसका साथै गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंंवदन्ती छ ।


















