अत्तरिया – अमरगढी नगरपालिका डडेल्धुरा जिल्लाको सदरमुकाम मात्रै नभई सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने ट्रान्जिट पोइन्ट पनि हो । धार्मिक, पर्यटकिय एवम् ऐतिहासिक महत्तको यो क्षेत्र विकासका प्रचुर सम्भावनाले भरिएको छ ।
यस क्षेत्रको विकासका लागि हाल थुप्रै योजना पनि अगाडी बढेका छन । जसमध्ये डडेल्धुराको मुहार फेर्ने एक मुख्य योजना हो ‘अमगरगढी स्मार्ट सिटी’ ।

स्थानिय तहको चुनावमा जोडतोडका साथ उठेको यो योजनाको आधार स्तम्भ तयार भएपनि कार्यान्वयमा भने आउन सकेको छैन । स्थानीय तहको निर्वाचनका बेला स्मार्ट सिटीको मुद्दा उठाएका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा निर्वाचित भएपछि आफूले उठाएको योजना संघ मार्फत कार्यान्वयमा ल्याउने प्रक्रिया अगाडी बढाएको भएपनि पछिल्लो केन्द्रको राजनीति अस्थिरताले योजनाले गति लिन नसकेको बताए ।
ओली सरकारले विभिन्न दशवटा शहरलाई ‘स्मार्ट सिटी’ निर्माण गर्ने घोषणा अन्तर्गत अमरगढी नगरपालिका पनि योजनामा परेको थियो । जसका लागि यसै बर्ष सरकारले १ अर्व समेत बजेट बिनियोजन गरेको थियो । तर, ओली सरकार ढलेसंगै देउवा सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा उक्त योजना हटाइएको नगरप्रमुख ओझाले बताए ।
‘म एमालेको नगर अध्यक्ष भएको बेला केन्द्रमा लबिङ गरेर अमरगढीलाई स्मार्ट सिटी बनाउने योजना पार्न सफल भएको थिए’ अत्तरिया अनलाइन संग कुरा गर्दै नगरप्रमुख ओझाले भने ‘सोही योजना कार्यान्वयनका लागि ओली ज्यु प्रधानमन्त्री हुँदा १ अर्व बजेट बिनियोजन भएको हो ।’
उनले स्मार्ट सिटी अन्तरगत १ हजार जना क्षमताको सिटी हल, बसपार्क निर्माण, टुडिखेल संरक्षण योजना, ७ किलोमिटरको रिङरोड, १२ किलोमिटर ग्रामिण सडक, सडक लाईट, सडकमा ब्लक बिछाउने र रेलिङ लगाउने योजना रहेको बताए ।
‘निकै मिहेनत गरेर स्मार्ट सिटीको योजना अगाडी बढाएका थियौ’ उनले भने ‘स्मार्ट सिटीको योजना अगाडी बढेको भए अमरगढीको विकास धेरै माथि पुग्थ्यो । सायद ओली सरकारले जस पाउन्छ भनेर पनि देउवा सरकारले यो योजना काटेको हुनुपर्छ ।’

उनले डडेल्धुरमा रहेको बसपार्कको समस्या सामाधानका लागि स्मार्ट सिटी योजनाबाट १२ करोड ५१ लाख छुट्याइएको भएपनि स्मार्ट सिटीको बजेट काटिदा सबै काम प्रभावित भएको बताए । ६ वर्षअघि नगरपालिकामा रहेको तत्कालीन राजनैतिक संयन्त्रले राजमार्गको डकलेमा बसपार्क निर्माण गर्न ४० रोपनी जग्गा छुट्याएको थियो । हाल बसपार्कको काम अगाडी नबढ्दा बागबजारमा रहेको २ रोपनीको सानो ठाउँमा सवारी साधन पार्कीङ गर्न निकै समस्या हुने गरेको छ ।
नगरप्रमुख ओझाले तत्कालको समस्या सामाधानका लागि हाल सहरी विकासको कार्यक्रम मार्फत ५० लाख बसपार्कका लागि छुट्याईको बताए । उक्त रकमले बसपार्कको जग्गा सम्याउने काम हुने उनले बताए ।

अमगरढीको मुख्य बजार क्षेत्रमा साधुरो सडक हुँदा दैनिक जसो सवारी साधनको जाम लाग्ने गरेको छ । सोही समस्यालाई मध्यनजर गरी बजार क्षेत्रको सडकलाई ४ लेनको बनाउने गरी योजना अगाडी सारिएको भएपनि सो योजना समेत हाल रोकिएको छ । सडक विभागमार्फत करिव ४४ करोड रुपैयाँ विनियोजना गरिएको भएपनि सडक बिस्तार रोकिनुपर्ने माग गर्दै मुद्धा परेपछि योजना रोकिएको हो । सडक बिस्तारका क्रममा धेरै घर भत्काउनु पर्ने देखिएको थियो । नगरप्रमुख ओझाले पछिल्लो सरकारले भत्किएका सडकको मुआब्जा दिने निर्णय गरेपनि अहिले सो निर्णय कार्यान्वयमा नआएको बताए ।
‘सरकार फेरिएपछि मुआब्जा दिने निर्णय रोकिएको छ’ उनले भने ‘अहिले सरकारले फेरी अध्ययन गर्ने भनेर पुनः अध्ययन टोली पठाएको छ । जसले गर्दा काम लम्बिने देखिन्छ ।’ उनले सडक बिस्तार गर्ने योजना ल्याउन आफूले निकै मिहेनत गरेको भएपनि अझै सफल हुन नसकेको बताए ।
‘यो योजना पार्नको लागि पनि निकै मिहेनत गरेका थियौ’ उनले भने ‘म आफै पनि ११ पटक यो योजनाका लागि काठमाण्डौं गएको थिए । काठमाण्डौंमा कार्यालयहरुमा सहयोगीको जस्तै फाट–फाटमा लगेर योजना स्विकृत गरेको थिए ।’

उनले सदरमुकाममा रहेको खानेपानीको समस्या भने हाल सामाधान भएको बताए । ‘यो क्षेत्रमा खानेपानीको ठूलो समस्या थियो’ उनले भने ‘अहिले ४ हजार घरमा धारा जोडिएका छन । हाल दैनिक ८ लाख लिटर पानीको माग भएपनि दैनिक १३ लाख लिटर पानी गइरहेको छ । अबको २५/३० बर्ष सम्म खानेपानीको समस्या हुँदैन ।’
उनले अमरगढीको विकासका लागि थुप्रै काम भएपनि ठूला योजना कार्यान्वयमा भने समस्या भएको बताए । उनले ४ बर्षमा नगरमा विकासको जग हाल्ने काम भएको बताए । उनले नगरमा शिक्षा, स्वास्थ्य, सडक निर्माण, पर्यटन क्षेत्रको विकासमा थुप्रै काम भएको बताए ।


















