धनगढी – धनगढी उप–महानगरपालिकामा ‘उपमेयर सुरक्षित मातृत्व कार्यक्रम’ लागु गरिएको छ । धनगढी उप–महानगरपालिकाकी नगर प्रमुख सुशिला मिश्र ‘भट्टले आमा तथा नवशिशुका लागि सुरक्षा सामाग्री किट’ हस्तान्तरण गर्दै उप–महानगरपालिकामा ‘उपमेयर सुरक्षित मातृत्व कार्यक्रम’ लागु भएको घोषणा गरिन् ।
उपमेयर सुशिला मिश्र ‘भट्ट’ ले धनगढी उप–महानगरपालिकाले सञ्चालनमा ल्याएको वर्थिङ्ग सेन्टरमा पुस महिनायता सुत्केरी भएका आमालाई सुरक्षा सामाग्री किट हस्तान्तरण गरेकी हुन् ।

उप–महानगरको वडा नम्बर १९, फूलवारीमा रहेको फूलवारी स्वास्थ्य चौकी, वडा नम्बर ७ बेलीमा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नम्बर १६ घसिटामा रहेको उर्मा स्वास्थ्य चौकीमा सुत्केरी आमा तथा स्वास्थ्य केन्द्रका प्रमुखलाई सुरक्षा किट वितरणपछि बोल्दै उपमेयर सुशिला मिश्र ‘भट्ट’ ले सुरक्षित तवरले वर्थिङ्ग सेन्टरमा महिलालाई सुत्केरी गराउन प्रोत्साहन गर्न कार्यक्रम लाभदायी हुने बताइन् ।

बाल मृत्युदर र मातृमृत्युदर रोक्नु हाम्रो उदेश्य हो उपमेयर मिश्रले भनिन्, ‘उपमेयर सुरक्षित मातृत्व कार्यक्रमले स्वास्थ्य केन्द्रमा पुगेर सुरक्षित तवरले सुत्केरी गराउन प्रोत्साहन गर्नेछ ।’ उनले यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन् ।

कार्यक्रम सुरुको पहिलो दिन फूलवारी स्वास्थ्य चौकीलाई १०० थान, उर्मा स्वास्थ्य चौकीलाई ३० थान र शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २० थान सुरक्षा सामाग्री किट हस्तान्तरण गरिएको छ ।
उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले सुरक्षा सामाग्री किटमा नुहाउने साबुन १० थान, नवजात शिशुका लागि ब्लाङ्केट एक थान, आमाको लागि सल एक थान, नङ कटर एक थान, तेल एक बोटल, सेम्पु एक बोटल, काजु एक प्याकेट, झुल एक थान लगायतका सामान रहेको बताए ।
अरु पालिकाले अण्डा, घ्यू लगायत दिने गरेका छन् अधिकृत उपाध्यायले भने, ‘हामीले स्वास्थ्य सामाग्रीका साथै पौष्टिक आहार समेत समावेश गरेका छौं । यो नयाँ अभ्यास हो । यो देशकै नमूना कार्यक्रम हो ।’

















