खाेज्नुहाेस

अत्तरियामा खुल्दै सुविधा सम्पन्न अस्पताल

Image

अत्तरिया – सुदूरपश्चिमका ९ जिल्लाको संगमका रुपमा रहेको अत्तरियामा प्रदेशकै सुबिधा सम्पन्न अस्पताल खुल्ने भएको छ । निजी क्षेत्रको लगानीमा अत्तरियाको मुख्य बजार क्षेत्र महेन्द्रनगर रोडमा अत्तरिया अस्पताल प्रा.लि खुल्न लागेको हो ।

१ महिना भित्रमै अस्पताल संचालनमा ल्याउने तयारीका साथ अस्पतालको डेकोरेसन गर्ने काम चलिरहेको अस्पतालका प्रशासन प्रमुख डिल्ली पाठकले बताएका छन ।

attariya hospital

उनले अस्पताल संचालनका लागि भवन निर्माणको काम सकिएको र, अस्पतालका आवश्यक सामाग्री राख्ने काम चलिरहेको बताए । अस्पताल संचालनका लागि लोटस गल्लीमा सुबिधा सम्पन्न ५ तले अस्पताल भवन निर्माण गरिएको छ भने अस्पतालको मुल प्रवेशद्धार लागि भने राजमार्ग संगै जोडिएको भवन प्रयोग गरिएको छ ।

navjiwan hospital

सुदूरपश्चिममा निजी क्षेत्रबाट संचालित अस्पतालहरु मध्ये सबैभन्दा बढी लगानी गरेर अस्पताल संचालन गर्न लागिएको अस्पताल प्रशासनले दाबी गरेको छ । हाल १५ शैय्याको अनुमति पाइसकेको उक्त अस्पतालले १ सय बेड संचालन गर्ने गरी प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

जसमा करिब ११/११ बेडका आइसियु र एनआइसियु, १६ वटा क्याबिन सहित प्रसुती, जनरल, इमर्जेन्सि र दैविक प्रकोप÷ महामारीका लागि पनि छुटै बेडको व्यवस्था गरिएको छ । अस्पतालबाट सबै किसिमका डायग्नोष्टिक सेवा, जटिल प्रकारका अपरेशन सेवा समेत प्रदान गर्ने गरी काम अगाडी बढीरहेको प्रशासन अधिकृत पाठकले बताए ।

उनले हाल अस्पतालमा भौतिक संरचना तयार भएपनि अस्पताल संचालनका लागि आवश्यक उपकरण ल्याउने क्रम जारी रहेकाले कुल लागतका बारेमा भने अहिले नै भन्न नसकिने बताए ।

‘हामीले अहिले सुबिधा सम्पन्न अस्पताल संचालनका लागि तिव्र गतिमा काम अगाडी बढाएका छौ । अस्पतालका लागि आवश्यक उपकरण ल्याउने क्रम जारी छ’ उनले भने ‘हामीले अस्पतालमा कती लगानी लाग्छ र के–के उपकरण अस्पतालमा जडान हुन्छन भन्ने अन्तिम टुङ्गो लाग्न बाँकी छ । त्यसको विस्तृत जानकारी हामी केही दिनमा दिनेछौ ।’

उनले अस्पतालमा सबै किसिमका बिशेषज्ञ सेवा प्रदान गरिने भएपनि कुन–कुन डाक्टर आउँछन भन्ने टुङ्गो लाग्न पनि बाँकी रहेको बताए । उनले लगानी कर्ता पनि अस्पतालमा थपिदै गएकाले यसमा क–कसको के कती लगानी छ भन्ने कुरा पनि अहिले भन्न नसकिने बताए ।
सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक सबै बिधाका सुविधा पाइने गरी अस्पताल संचालनमा आउन लागेको बताउँदै उनले अस्पताल संचालन आएपछि यस क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने बताए ।

उनले १ सय बेडको अस्पताल संचालनमा आएपछि अस्पतालले नर्सिङ कक्षा पनि संचालन गर्ने बताए । चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार नर्सिङ कक्षा संचालनका लागि एक सय शैय्याको अस्पताल आवश्यक पर्छ ।