अत्तरिया – बिहिबार कैलालीको ओलानीमा रहेको गोदावरी स्वास्थ्य चौकीमा गोदावरी नगरपालिका – १० का अर्जुन सुनार सामग्री बुझ्न पुगे । नगरपालिकाले उपमेयर सुरक्षित मातृत्व कार्यक्रम अन्र्तगत वितरण गरिरहेको एक क्रेट अण्डा र एउटा डब्बा घिउ बुझ्न उनी गोदावरी नगरपालिका – ११ मा रहेको स्वास्थ्य चौकीमा पुगेका थिए । खुट्टाको अपांगता भएका उनी श्रीमतीले प्राप्त गरेको सामग्री पाउँदा खुसी देखिन्थे ।
‘नगरपालिकाले सुत्केरी महिलाहरुका लागी पोषणयुक्त खानेकुराहरु दिएको रहेछ’ उनले भने ‘साह्रै खुसी छु सर, महिलाहरुको स्वास्थ्यको ख्याल राख्दै नगरपालिकाले थालेको कार्य देखेर ।’ उनले नगरपालिकाले मात्रै नभई घरका मान्छेहरुले पनि सुत्केरी महिलाको स्याहार सुसार गर्नुपर्ने बताए ।

‘अरुको भर परेर मात्रै कहाँ हुन्छ र आफुले पनि त केही रेखदेख गर्नुप¥यो नी’ उनले भने ‘मलाई त यस्तो बारेमा जानकारी भएको हुँदा मैले त यस्ता सबै चिज मेरो श्रीमतीलाई खुवाउदै आएको छु ।’ उनले नगरका सबैलाई यस्ता पोषण युक्त खानेकुराले सुत्केरी महिला र बच्चामा पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी दिनुपर्ने बताए । उनले सामग्री प्रदान गरेका घरहरुमा पनि महिलाहरुको अवस्थाको बारेमा जानकारी राख्न्पर्ने बताए ।
‘दिएर मात्रै के गर्नु, सुत्केरी महिलाहरुका लागी भनेर आएका यस्ता सामग्री घरका बच्चा र अरु सदस्यहरुले खाने गर्छन’ उनले भने ‘जबसम्म घरका सदस्यहरुलाई पनि सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा खुवाए आमा र बच्चाको स्वास्थ्य अवस्था बलियो हुन्छ भन्ने जानकारी हुदैन तबसम्म यस्ता सामग्रीहरु वितरण गर्नुको अर्थ छैन ।’
उनले नगरपालिकाले सामग्री दिनु आफैमा सकारात्मक भएको बताउदै यसलाई व्यवहारीक रुपमा उतार्नका लागी स्थानियहरुमा यससम्बन्धी जानकारी दिन जरुरी रहेको बताए ।
यसैगरी गोदावरी नगरपालिका – ३ मालिकाटोलकी २३ दिनकी सुत्केरी सुनिता देवी खड्काले पहिलो चोटी नगरपालिकाबाट सुत्केरीका लागी खानेकुरा पाउँदा हर्षित भएको बताईन् । मालाखेती अस्पतालमा पोषण सामग्री बुझुन आएकी उनले यसअघि कहिल्यै पनि आफुहरुले यस्ता सामग्री नपाएको बताईन ।
‘यसको बारेमा थाहा नै थिएन, अस्पतालबाट फोन गरेछन’ उनले भनीन ‘साह्रै खुसी लागेको छ, सुत्केरी महिलाहरुले पनि यस्ता खानेकुराहरु खानुपर्छ भन्ने नि ज्ञान भयो ।’ यस्ता खानेकुरा खान पाउनु गरिब परिवारका मान्छेका लागी एकदमै राम्रो भएको बताउदै उनले नगरपालिकाले यसलाई नियमीत गर्नुपर्ने बताईन् ।

नगरपालिकाले उपमेयर सुरक्षित मातृत्व कार्यक्रम अन्र्तगत नगरभित्र साउन महिनादेखि सुत्केरी भएका महिलाहरुलाई पोषण खानेकुराहरु वितरण गर्दै आईरहेको छ । नगरबासीहरुमा घरमा सुत्केरी गराउने नभई स्वास्थ्य संस्थामा सुरक्षित तरिकाले सुत्केरी गर्ने परिपाटीको विकास होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमपश्चात नगरभित्रका स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुनेको संख्यामा बृद्धि हुने अनुमान गरिएको छ ।
बिहिबार नगरपालिकाले मालाखेती अस्पताल र गोदावरी स्वास्थ्य चौकीमा सामग्री वितरण गरेको थियो । आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउने सरकारको लक्ष्य अनुसार नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए ।
उनले सुत्केरी महिला तथा बच्चाको स्वास्थ्य अवस्थाको ख्याल राख्दै नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याउदै आएको बताउदै उनले त्यस्ता कार्यक्रमहरु विशेषत प्रभावकारी पनि हुदै गएका बताए । उनले नगरपालिकाले थालेको सुरक्षित मातृत्व कार्यक्रमले नगरभित्र घरमै सुत्केरी गराउने महिलाहरुको संख्यामा कमि आउने विश्वास लिएको उनले बताए ।
स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई सरकारले पनि विभिन्न सेवा सुविधाहरु दिदै आएकोमा त्यसैमा थप गरी नगरपालिकाले नगरभित्रका सुत्केरी महिलाहरुलाई पोषण खानेकुराहरु प्रदान गरिरहेको उनले बताए । उनले महिलाहरुलाई सुत्केरी भएको समयमा पोषण खानेकुराहरु बढी खानुपर्छ भन्ने कुराको जानकारी दिन पनि कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।
यता नगपालिकाकी उपप्रमुख रत्ना कडायतले नगरपालिकाको रातो किताबमा समावेश गरिएको उपमेयर सुरक्षित मातृत्व कार्यक्रमलाई व्यवहारमा उतारेको बताईन । उनले नगरका विभिन्न स्वास्थ्य संस्थाहरु मार्फत कार्यक्रमलाई अगाडी बढाएको बताईन ।
नगरमा बर्थिङ सेन्टर भएका सबै स्वास्थ्य केन्द्रहरुमार्फत सुत्केरी भएका महिलाहरुलाई पोषण सामग्री वितरण गरिने उनले बताईन । ‘सुत्केरी भएका महिला दिदिबहिनीहरुका लागी नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो’ उनले भनीन ‘यसले आवश्यकता भएका महिलाहरुलाई राहत पुगेको छ भन्ने हामीले विश्वास लिएका छौ ।’
उनले चालु आर्थिक वर्षको कार्यक्रम भएकाले साउन महिनादेखि असार मसान्तसम्म सुत्केरी हुने महिलाहरुलाई नगरपालिकाले पोषणयुक्त खानेकुराहरु वितरण गर्ने उनले बताईन ।
उनले घरमै सुत्केरी हुने महिलाहरु पनि आगामी दिनमा स्वास्थ्य संस्थामा आउने वातावरण सृजना गर्न कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरिन । आगामी दिनहरुमा भेला गरेर भन्दा पनि सरकारले प्रदान गर्ने सेवसुविधाका साथै नगरपालिकाबाट पाईने पोषण खानेकुराहरु पनि सँगै लगेर जाने किसिमले नगरपालिकाले कार्यक्रमलाई अगाडी बढाउने उनले बताईन ।
नगरप्रमुख हरि सिँ साउँदले सुत्केरी अवस्थामा पोषणयुक्त खाना अति आवश्यक हुने भएकाले नगरले कार्यक्रम थालेको बताए । ‘शिशु र आमालाई कसरी स्वस्थ बनाउन सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमको थालनी भएको हो’ उनले भने ‘सामग्री बाँडेर मात्रै यसको पुर्ति हुदैन, यो त यहाँहरुलाई सिकाउनलाई मात्रै हो, भोलीको दिनमा हामीहरुले पनि किनेर खानुपर्छ भन्ने वातावरण बनाउन यो कार्यक्रमको आयोजना गरिएको हो ।’
बालबच्चालाई स्वस्थ राख्न पहिला आमा आफुले स्वस्थ हुन जरुरी रहेको बताउदै उनले आफु स्वस्थ भएमात्रै बच्चा स्वस्थ जन्मिने बताए । उनले बच्चा हुनुभन्दा अगाडी गर्भावस्थामै पोषणयुक्त खानेकुराहरु खानुपर्ने उनले सुझाए ।
नगरपालिकाले गत मंसिर २२ गते बुधबार गेटा स्वास्थ्य चौकीबाट कार्यक्रमको सुरुवात गरेको थियो । सुत्केरी महिलाहरुको पोषण सुधारकाका साथै संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्युदर कम गर्न नगरपालिको उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

















