पहिलो चरणमा कृष्णपुर, दोधारा चाँदनी, वेदकोट र बेलौरी नगरपालिकामा नामावली संकलन हुँदै
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको घुँइचो लाग्न थालेको छ । नगरपालिकामा पहिलो चरणमा मंसिर १७ गते देखि मतदाता नामावलीमा नाम दर्ता सुरु गरेकोमा पछिल्लो केहीदिन यता नाम दर्ता गराउनेको संख्या बढ्न थालेको हो ।

नगरपालिकाको कार्यालयमा भईरहेको मतदाता नामावली संकलनमा मंगलबार सम्ममा १ हजार ५ सय ५१ जनाले आफ्नो नाम दर्ता गराएको कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए ।
जसमा मंगलबार मात्रै २ सय ५१ जनाको नामावली संकलन गरिएको उनले बताए । उनले सुरुका दिनमा केही कम भिड भएपनि पछिल्लो केही दिन यता भिड निकै बढेको बताए ।
‘मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि मानिसहरु बिहानै देखि लाईनमा लाग्ने गरेका छन’ उनले भने ‘दिनभरीमा आएका मानिसहको नाम दर्ता गराउन हम्मे– हम्मे परेको छ ।’

उनले मतदाता नामावली संकलनका लागि निर्वाचन कार्यालयबाट एक जना कम्युटर अपरेटर खटाइएको बताए ।
‘भीड अत्याधिक बढेपछि हामीले बिहान ७ बजेदेखि नै काम सुरु गर्ने गरेका छौ’ उनले भने ‘कम्युटरमा एक जनाको नाम दर्ता गर्नमै ५÷७ मिनेट लाग्छ ।’ उनले नामावली दर्ताका लागि एक जना फोकल पर्सन, एक जना कम्युटर अपरेटर, एक जना दर्ता व्यवस्थापन कर्मचारी र कार्यालय सहयोगी रहेको बताए ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका ४ वटा पालिकामा पहिलो चरणमा मंसिर १७ देखि पुस २ गते सम्म मतदाता नामावली संकलनका लागि टोली परिचालन गरेको छ । पहिलो चरणमा कृष्णपुर नगरपालिका संगै दोधारा चाँदनी नगरपालिका, वेदकोट नगरपालिका, र बेलौरी नगरपालिकामा टोली परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताए ।
उनले बाँकी रहेका पालिकामा पुस ४ गतेदेखि १८ गते संम्म मतदाता नामावली संकलनको काम संचालन गरिने बताए । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि नेपाली नागरिकताको सक्कल प्रति सहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने प्रावधान निर्वाचन कार्यालयले राखेको छ ।
यस्तै बिबाह भई आएको हकमा विवाह दर्ता प्रमाणपत्र र बसाई सरी आएको हकमा बसाईसराईको प्रमाणपत्र आवश्यक पर्ने जनाइएको छ । बाह्य जिल्लाबाट बसोबास गरेर आएकाहरुको हकमा भने पुस १७ गते देखि जिल्ला निर्वाचन कार्यालयमै नामावली संकलन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा २०७७ साल माघ सम्मको तथ्याङ्क अनुसार २ लाख ७७ हजार ५९ जना मतदाता रहेका छन् ।


















