अत्तरिया – धान बाली भित्र्याएका किसान यतिबेला गुहँ छर्नमा व्यस्त छन । किसानहरु हिउँदे बालीका रुपमा गहुँ छर्न लागेका हुन । बेमोसमी बर्षाका कारण पाकेको धानबाली भित्र्याउन नपाएको पीडा मनमा गुम्स्याउँदै किसान अहिले अर्को गहुँ छर्नमा व्यस्त छन ।
तर, किसानहरु खेतमा व्यस्त भइरहदाँ गहुँका लागि चाहिने सिचाई, बिउ र मलको यस पटक पनि अभाव कायमै रहँदा किसानलाई सोचेजस्तो गहुँबाट पनि उत्पादन नहुने चिन्ता छ । कैलालीको गोदावरी नगरपालिका – १० का खडक बहादुर स्वारले मिहेनत गरेर खेती गरेपनि उत्पादन भने निकै न्युन हुने गरेको बताए । ‘मल र बिउ त बजारबाट किनेर ल्याएको थिए । केही गोठे मल पनि प्रयोग गर्छौ’ उनले भने ‘यस क्षेत्रमा पानीको ठूलो समस्या छ ।’

१० कट्टा आफन्त र १३ कट्टा निजी जग्गामा गहुँ खेती गर्दै आएका स्वारले उत्पादन राम्रो नहुने भएकाले ५ जनाको परिवारलाई पनि खान नपुग्ने बताए ।
‘खोजेको बेला मल पाइदैन । मल नहालेर पनि खेती गर्छौ । अहिले पनि अनुदानको मल नपाउँदा बजारबाट ४५ रुपैयाँ किलोका दरले मल ल्याए’ उनले भने ‘सरकारले दिने भनेको मल त हामीले कहिले पाउँदैनौ ।’
स्थानिय सरुजा देवी स्वारले यसअघि खेतमा मासबाली छरेको भएपनि बर्षाले गर्दा उत्पादन शुन्य भएको बताईन् । ‘अब गहुँ उत्पादन हुन्छ की भनेर खेतीमा लागेका छौ’ उनले भनीन् ।


१ बिगा जग्गामा गहुँ खेती गर्दै आएका स्थानिय भिम लुहारले गहुँ खेतीका लागि बजारबाट मल र बिउ ल्याएको बताए । उनले सरकारले दिने अनुदानको मल, बिउ आफूहरुले नपाएको बताए । ‘सहकारीमा मल आएपनि पहिले आफ्ना मान्छेलाई बाड्छन हामीले कहिले पाउँन्छौ । कहीले पाउँदैनौ’ उनले भने ।
अर्का किसान नृप बहादुर बिश्वकर्माले गहुँ खेतीका लागि बजारबाट ५५ रुपैयाँका दरले डिएपी मल खरिद गरेर ल्याएको बताए । उनले अनुदानको पहिले सहकारीहरुबाट पाइने गरेको भएपनि यो बर्ष अझै मल नआएको बताए ।
‘सहकारीमा ३० रुपैयाँमै मल पाईन्थो । बजारबाट ५५ रुपैयाँमा किन्नु प¥यो’ उनले भने ‘सिचाइको पनि त्यस्तै समस्या छ । ६० विगाहा बराबर एक बोरीङ छ । त्यसले सिचाई गर्न नै पुग्दैन ।’
यस बर्ष सरकारले समयमै मल ल्याउन नसक्दा अधिकान्स किसानहरु मल बिनै गहुँ छर्न बाध्य छन । मल नहुँदा गहुँ उत्पादन सोचेजस्तो नहुने किसानहरुले चिन्ता व्यक्त गरेका छन ।
असअघिको धान बाली राम्रो उत्पादन हुने आकलन गरिएपनि कातिक पहिलो साता आएको बेमौसमी बर्षाले ठूलो क्षति पुगाएको थियो । सरकारले धान बालिमा क्षति पुगेका किसानलाई राहत दिने भनेपनि अझै सो राहत किसानको हातमा पुग्न सकेको छैन । राहतको आश्वासन दिएको सरकारले अहिले किसानलाई गहुँ खेती गर्न मल दिन नसक्दा किसान झनै निरास बनेका छन ।


















