अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ चैतन्यपुर बासीको मोटरेबल पुलमा हिड्ने सपना अझै पुरा हुन सकेको छैन । त्यो क्षेत्रका बासिन्दालाई बर्षातको समयमा अत्तरिया बजार क्षेत्रमा आवतजावत गर्न निकै समस्या हुने गरेकोमा सो समस्याबाट छुटकारा पाउन अझै केही समय लाग्ने देखिएको छ ।
पुलको निर्माण कार्य गत आर्थिक बर्ष भित्र नै सकिने भनिएपनि निर्माण अवधि सकिएको करिब ६ महिना पुग्दा ६८ प्रतिशत मात्रै निर्माणको काम सकिएको छ । आर्थिक बर्ष २०७६/०७७ देखि सुरु भई २०७७/०७८ (२ बर्षमा) पुलको काम सकिने भनिएपनि कोरोना महामारीका कारण पुल निर्माणको काम लम्बिएको निर्माण पक्षले जनाएको छ ।

निर्माण कम्पनी रमन केएसका संचालक धु्रव कुँवरले दुबै आर्थिक बर्षमा कोरोना महामारीका कारण २ पटक काम रोकिएकाले निर्माणमा ढिलाई भएको बताए । उनले दोस्रो लहरको कोरोना पछि काम सुरु गरिएको भएपनि पुनः कार्तिक पहिलो साता आएको बेमौसमी बर्षाले केही समय काम रोकिएको बताए । ‘रोकिएको काम हिजोदेखि सुरु भइसकेको छ ।
गत आर्थिक बर्षमै काम सक्ने भनेर सामान पनि ल्याएका थियौ । लकडाउनले काम गर्न सकिएन’ उनले भने ‘अब काम द्रुत गतिमा अगाडी बढ्छ । कुनै समस्या नआए चैत मसान्त भित्रै पुलको सम्पुर्ण काम सकिन्छ ।’
गोदावरी नगरपालिकाका इन्जिनियर पुर्ण कुवरले पुलको मुख्य काम सम्पन्न भएर सुपर स्टक्चर (ढलान) को काम मात्रै बाँकी रहेको बताए । उनले सुपर स्टक्चरको काम अन्तरगत पनि मिड स्पेन (बिचको भाग ढलान) को काम सकिएको बताए । ‘२०/२० मिटरका ३ वटा स्पेन भएको ब्रिज हो । जसमा २० मिटरको मिड स्पेनको काम सकिएको छ’ उनले भने ‘अब साइड कर्नरका दुई वटा स्पेनको काम मात्रै बाँकी छ ।’

उनले निर्माणको काम जारी रहेको समयमा दुई पटक कोरोना भाइरसका कारण लकडाउन गरिएकाले काम समयमा हुन नसकेको बताए । उनले पुलको म्याद चैत मसान्त सम्म थप्ने गरी प्रक्रिया अगाडी बढेको बताए ।

२०७६ मंसिर २१ गते पुलको संघिय सरकारका उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।
२ वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुलको रमन केएस जेभीसँग ६ करोड ७ लाख १ हजार ९ सय ७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
६० मिटर लम्बाई र ७ मिटर चौडाई भएको पुल निर्माण भएमा गोदावरी नगरपालिका – १ चैतन्यपुर संगै वडा नम्बर ६ र ८ का बासिन्दा लाभान्बित हुनेछन ।
अहिले पुल निर्माण नहुँदा सो क्षेत्रका स्थानिय बासिन्दा काठको जिर्ण पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।


















