अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र बर्षेनी दर्जनौ खेलकुद प्रतियोगिता हुने गरेका छन । अहिले चाडपर्वलाई लक्षित गरेर नगर भित्र भइरहेका प्रतियोगिताले झन नगरपालिकालाई खेलकुदमय बनाएको छ । नगरभित्र हुने अधिकान्स प्रतियोगितामा नगरपालिका तथा वडा कार्यालयले पनि सहयोग गर्ने गरेको छ । तर, नगरपालिकामा खेलकुदका प्रतियोगिता धेरै भएपनि त्यसमा महिला प्रतियोगिताका कार्यक्रम भने पुरुष प्रतियोगिताको तुलनामा नगन्य नै छन ।
यस्तो परिस्थितीबाट गुज्रिएर बनेको एउटा गोदावरी नगरपालिकाको महिला फुटबल टिमले भने यस पटक राष्ट्रिय स्तरमै गोदावरी नगरपालिकालाई चिनाउने गरी ऐतिहासिक सफलता हासिल गरेको छ । कार्तिक ४ गते देखि काठमाण्डौंमा सुरु भएको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगितामा सहभागि भएर गोदावरी नगरपालिकाको महिला फुटबल टिम अहिले नक आउट चरणमा प्रबेस गरेको छ ।

३१ वटा टिम सहभागि प्रतियोगितामा नगरपालिकाको टिम समुह विजेता बन्दै नकआउट चरणका १० टिम भित्र पर्न सफल भएको हो । ‘गोदावरी नगरपालिकामा वडा, नगर, प्रदेश स्तरिय फुटबल, क्रिकेट, भलिबल लगायतका प्रतियोगिता गरेर बजेट सकाउने गरिएको छ’ गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले भनीन ‘तर, नगरपालिकाबाट महिला खेलकुद प्रतियोगिताकै लागि भनेर अहिले सम्म कार्यक्रम गर्न सकिएको थिएन ।’
उनले नगरभित्र महिलाका लागि धेरै खेलकुदका कार्यक्रम नभएपनि गोदावरीको महिला फुटबल टिमले काठमाण्डौंमा राम्रो प्रदर्शन गर्नु गर्वको बिषय भएको बताईन् । यसबाट नगरपालिकाले आगामी दिनमा महिला लक्षित खेलकुद कार्यक्रम पनि गर्नुपर्ने सन्देश दिएको उपप्रमुख कडायतले बताईन् ।
टिमकी क्याप्टेन यसोधा रावलले पहिलो पटक यती ठूलो प्रतियोगितामा सहभागि भएर नक आउट चरणमा पुग्न पाएकोमा निकै खुसी लागेको बताईन् । ‘महिला घरमा मात्रै बस्नुपर्छ भन्ने मान्यता रहेको सामाजमा हुर्किएका हामीहरु अहिले घर परिवारको सपोर्ट नभएपनि राष्ट्रिय टिममा सहभागि हुने अवसर पाएका छौ’ उनले भनीन् ‘अहिले हामी गोदावरी नगरपालिकाले सपोर्ट गरेका कारण काठमाण्डौमा खेल्ने राम्रो अवसर पाएका हौ ।’ उनले आगामी यात्रामा चुनौती भएपनि उपाधि हात पार्न आफूहरु सक्दो प्रयासरत रहेको बताईन् ।
नगरपालिकाको प्रतिनिधित्व गरेर महिला फुटबलको टिम काठमाण्डौंमा गएको भएपनि त्यसमा सहभागि अधिकान्स खेलाडी भने अत्तरिया फुटबल एकेडमीमा प्रशिक्षण लिइरहेका थिए । फुटबल एकेडमीका अध्यक्ष संजय ओझाले आफ्नो एकल मिहेनतमा करिब ६० जना खेलाडीलाई प्रशिक्षण दिईरहेका छन ।

अध्यक्ष ओझाले आफुले तयार पारेका खेलाडीले नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुदमा अवसर पाउनु गौरवको बिषय भएको बताए । उनले पहिलो पटक गोदावरी नगरपालिकाले आफुले तयार पारेको टिमलाई सहयोग गरेकोमा निकै खुसी लागेको बताए ।
‘हामीले प्रतियोगिता अन्तरगत खेलेको पहिलो खेलमा पोखरा महानगरपालिकाको टिमलाई ६ गोलले पराजित ग¥र्यौ’ उनले भने ‘त्यसैबाट अहिले खेलाडीको हौसला बढेको छ । अब हामीले बलियो मानिने कन्काई नगरपालिकाको टिमसंग कार्तिक २४ गते प्रतिस्पर्धा गर्दै छौ ।’ नगरपालिकाको टिमको नेतृत्व गरिरहेका ओझाले सिल्ड नै जित्ने गरी आफूहरुले रणनीति बनाइरहेको बताए ।
नेपाली कांग्रेस नेता बिरद्र भट्टले अत्तरिया क्षेत्रकै पहिलो महिला फुटबल टोली पहिलो पटकमै राम्रो खेल खेलेको भन्दै खुसि लागेको बताए । ‘यस क्षेत्रका खेलाडीले काठमाण्डौंमा यो क्षेत्रलाई चिनाउन सफल हुनु भएको छ’ उनले भने ‘महिला खेलाडीहरुले यो क्षेत्रलाई नै विजयी गराउनु भएको छ । खेलाडीको हामी उज्जल भविश्यको कामना गर्दछौ ।’
यसैबिच मंगलबार नक आउट चरणमा प्रवेश गरेर फर्र्किएको गोदावरी नगरपालिकाको टिमलाई अत्तरियामा स्वागत गरिएको थियो । पहिलो पटक गोदावरी नगरपालिकाबाट महिलाको टिम राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगितामा सहभागि भएर राम्रो खेल प्रदर्शन गरेको भन्दै स्थानियले खुसियाली साटासाट गर्दै खेलाडीहरुलाई स्वागत गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गरेको प्रतियोगिता कार्तिक ४ गते बाट सुरु भएको थियो । प्रतियोगितामा ३१ टिमको सभागिता रहेको छ । समूह ए मा चार र अन्य समूहमा तीन टोली रहेका छन् । समूहका विजेता बन्दै गोदावरी नगरपालिकाको टिम ‘नक आउट’ चरणमा प्रवेश गरेको हो । ‘नक आउट’ चरणमा एक समूहबाट एक टिम गरी १० वटा टिम पुगेका छन । २२ कात्तिकमा नक आउट चरणका खेल सुरु हुँदैछन ।
नक आउट चरणमा समूह ‘ए ’बाट कन्काइ नगरपाकिका, समूह ‘बी ’बाट ललितपुर महानगरपालिका, समूह ‘सी’बाट बर्दियाको बाँसगढी नगरपालिका, समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिका, समूह ‘इ’ बाट इलामको रोङ गाउँपालिका, समूह ‘एफ’ बाट दाङको तुलसीपुर नगरपालिका, समूह ‘जी’ बाट कैलालीको गोदावरी नगरपालिका र समूह ‘एच’ बाट धनगढी उपमहानगरपालिका पुगेका छन ।
प्रतियोगिताको फाइनल खेल खेल २८ गते हुनेछ । फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।
उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ ।


















