खाेज्नुहाेस

सुदूरपश्चिममा भित्र्याउन लागेको धान पानीले डुबायो

Image

धनगढी – कैलालीको भजनी नगरपालिका–९ डोङ्गपुरकी सोनादेवी चौधरीले दशैं नमानी धान भित्र्याइन् । सोनादेवीले धान भित्र्याएपछि दशैं लगत्तै ५ कठ्ठामा मसुरो र लाही छरीन् । आलु लगायत तरकारी लगाईन् । तर, आईतबारदेखि परेको पानीले उनको मसुरो र लाही तथा तरकारीमा क्षति पुगायो ।

मसुरो र लाही लगाउँदा ३ हजार रुपैयाँ बराबरको मल, जोताई एक हजार तथा बिउमा गरेको लगानी सबै डुबेको सोनादेवीले बताईन् । ‘८ कठ्ठामा गहुँ लगाउँछु भनेर राखेको थिए’ सोनादेवीले भनिन्, ‘५ कठ्ठामा लगाएको मसुरो र लाही पानीले क्षती पु-यायो, अब सो जमिनमा पनि गहुँ नै लगाउँछु ।’

attariya hospital

भजनी नगरपालिका–९ पचमुडियाका पञ्चराम चौधरीले डेढ बिगाह क्षेत्र फलमा लगाएको धान खेतमै पानीमा डुबेको बताए । ‘७ कठ्ठामा लगाएको धान काटेका थियौं तर दशै अगाडी आएको पानीले भिजायो’ पञ्चरामले भने, ‘दशैं यता डेढ बिगाह क्षेत्रफलमा लगाएको धान काटेर खेतमा राखेका थियौ सबै बर्बाद नै भयो ।’ उनले लगातारको वर्षाले यो पालिको धानबाली नष्ट गरेको बताए ।

भजनी नगरपालिका–९ डोङ्गपुरका सन्दीपराम चौधरीले धान काटेर थ्रेसरका लागि थुपारेको धान पानीले पूरा भिजाएको बताए । ‘काटेर राखेका थियौ, थ्रेसर लगाउन बाँकी थियो’ सन्दीपरामले भने, ‘दशैं मनाएर भित्र्याउने सोच बनाएका थियौं तर पानीले सबै नोक्सान ग-यो ।’

navjiwan hospital

उनले ८ कठ्ठामा लगाएको धान लगातारको वर्षाले नोक्सान गरेको बताए । आईतबार रातिदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ । लामो समयसम्मको वर्षाका कारण दशैं अगाडि भित्र्याउन नसकिएको धान दशैं लगत्तै भित्र्याउन चटारो थियो ।

दशैं लगत्तै काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु-याएपछि यहाँका किसान चिन्तित भएका छन् । कैलालीको फुलवारी, हसुलिया, भजनी, अत्तरिया, बास्कोटा, बसन्तपुर लगायत ठाउँमा काटेर सुकाइएको धानबाली वर्षाले डुबाएको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले वर्षाका कारण काटेर राखिएको धान बालीमा क्षति पुगेको बताए ।

उनले भने, ‘काटेर सुकाइएको धानबाली पानीले पूरै डुबाउदा क्षति भएको छ ।’ क्षतिको एकीन विवरण आउन समय लाग्ने बताउँदै शर्माले जिल्लामा ७० हजार बढी क्षेत्रफलमा धान खेती हुने गरेको बताए ।

यता, लगातारको वर्षाका कारण गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेस्थित खुटिया नदीमा बालुला, ढुङ्गा निकाल्न भनेर गएको समयमा बाढीले नदीको बिच भागमा फसेका २ जनाको उद्धार गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले खुटीया नदीको बिच भागमा फसेका वडा नम्बर ९ बल्मीका ४० वर्षीय मानबहादुर थापा र उनकी श्रीमती ३६ वर्षीय रेबु थापाको उद्धार गरेको जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी वल नम्बर ४७ गण बनबेहडाको संयुक्त टोलीले उद्धार गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रदेशमा भारी वर्षा भइरहेकोले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो । लगातारको वर्षाले कैलालीका नदीमा पानीको बहाव बढेको छ ।