खाेज्नुहाेस

असोजमा नौ लाखले छाडे उपत्यका

Image

काठमाण्डौ – यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् ।

दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन् । यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

attariya hospital

उनका अनुसार दसैँको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनले भने, ‘दुईतीन दिनमा उपत्यका छाड्नेको संख्या अझै बढ्नेछ ।’

दुईवर्ष पहिलेसम्म २५ लाखभन्दा बढीले दसैँको समयमा उपत्यका छाड्ने गरेका थिए । गतवर्ष कोभिड–१९ संक्रमणको जोखिम रहेकाले त्यो संख्या ह्वात्तै घटेको थियो । झण्डै चारपाँच लाखले मात्रै गतवर्ष उपत्यका छाडेको अनुमान गरिएको थियो । यो वर्ष गत वर्षभन्दा बढी यात्रु भए पनि सामान्य अवस्था भन्दा धेरै कम छन् । उनले भने, ‘अघिल्लो वर्ष अग्रिम टिकट नै खुलाइएको थिएन, अहिले खुलाइएको छ ।’

navjiwan hospital

सरकारले घटस्थापना (असोज २१) देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ । यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएको थियो । यात्रुलाई समस्या नहोस् भनी ठाउँठाउँमा विभिन्न स्थानमा सहायता कक्ष रहेका छन् ।

घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ । यतिबेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताए ।

विजया दशमीको दिनदेखि भने काठमाडौँ उपत्यका फर्कनेको सङ्ख्या धेरै हुनेछ । उनले भने, ‘अहिले भरिएर गएका बस रित्तै आइरहेका छन् भने टीकाको भोलिपल्टदेखि यहाँबाट रित्तै गएर भरिएर आउँछन् ।’

दसैँको समयमा सडकमा सवारीसाधनको चाप ह्वात्तै बढ्ने भए पनि यो वर्ष देशभरका धेरै सडक बिग्रिएका थिए । केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत सुरु गर्न नसकिएको सडक विभागले जनाएको थियो । एक सातायता भने तीव्र रुपमा मर्मत भइरहेको छ ।
दसैँको टीकाको दिनदेखि पूर्णिमासम्म नै फर्किनेको चाप भएकाले सडक तयारी अवस्थामा हुनुपर्ने उनले बताए ।

रासस