अत्तरिया – कैलालीको अत्तरियामा छाडा पशु चौपाया सहित शान्तीपुर्ण -यालीको आयोजना गरिएको छ ।
सामाजिक कार्य गर्दै आएको संस्था थ्रिडिभिएल क्रियशनले पहाडरोडमा रहेको होटल डेलिसियस देखी अत्तरिया चोकसम्म -यालीको आयोजना गरेको हो ।


बजारमा छाडा रुपमा छोडिएका पशु चौपायाहरुले गर्दा किसानहरुले भोग्नुपरेको समस्या हालसम्म पनि समाधान नभएकाले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन पशु चौपाया सहितको -याली आयोजना गरिएको संस्थाका अध्यक्ष दिपक ओझाले बताए ।
‘किसानहरुले मेहनत गरेर लगाएको खेतीबाली छाडा चौपायाले नष्ट गरिरहेका छन’ उनले भने ‘सरकारले छाडा चौपायाको व्यवस्थापन गर्न नसक्दा खेतीकै भरमा बाचेका किसानको परिवारले भोकै पेट बस्नुपर्ने अवस्था आउने सम्भावना छ, त्यसैले सरकारको ध्यानाकर्षण गराउन छाडा चौपायालाई सँगै लगी हामीले -यालीको आयोजना गरेका हौ ।’

उनले स्थानिय तहहरुले चुनावी नारामा मुख्य प्राथमिकता राखेको छाडा पशु चौपाया हटाउने कुरा नारामै सिमित भएको बताए ।

‘बजारमा छाडा पशु चौपायाको बिगबिगी छ, स्थानिय सरकारले छाडा चौपाया व्यवस्थापनका लागी गरेको बजेट विनियोजन बालुवामा पानी मिसाए सरह भएको छ’ उनले भने ‘छाडा चौपाया व्यवस्थापन गर्ने भन्दै बिचौलीयाहरुले रकम मात्रै कुल्याएका छन भने किसानहरुले छाडा चौपायाका कारण भोग्नुपर्ने समस्या ज्यूका त्यू छ ।’
उनले बजारमा छोडिएका राष्ट्रिय जनावर गाईको हालत हेर्दा नेपालमा सरकार नभएको भान भएको बताए ।

यसैगरी संस्थाका सचिव एलआर ओझाले छाडा चौपायाकै कारण बजारमा दुर्घटनाको जोखिम बढेको बताए । उनले विगत केही दिनयता चौपायाबाट भएका सडक दुर्घटनाहरुको जिम्मेवारी स्थानिय सरकारले लिनुपर्ने बताए ।
-यालीमा सहभागी संस्थाका पदाधिकारी एवम् स्थानियहरुले छाडा पशु चौपायामाथीको राजनितिक द्धन्द बन्द गर, छाडा पशु चौपाया नियन्त्रण गर, राष्ट्रिय जनावर गाईको रक्षा गर, सनातन धर्ममाथीको प्रहार बन्द गर, गौशाला निर्माण गर, सडक दुर्घटना कमी गर लगायतका नाराहरु लगाएका थिए ।

यसैबिच संस्थाले आयोजना गरेको -यालीको व्यानरमा राष्ट्रिय चिन्हहरु समेत समावेश गरिएको थियो । सरकारले राष्ट्रिय चिन्हहरुलाई महत्व दिन छोडेको अनुभव भएकाले व्यानरमा राष्ट्रिय झण्डा, गाई, लालीगुँरास, डाँफे, सिम्रिक रंग लगायत चिन्हहरु समावेश गरिएको संस्थाका कोषाध्यक्ष क्षितिज साउँदले बताए ।
बजारमा छाडा रुपमा रहेका पशु चौपायाहरुले अत्तरिया बजारको ट्राफिक व्यवस्थापनलाई पनि चुनौती दिएको छ । स्थानिय पालिकाहरुले छाडा चौपायाको व्यवस्थापनका लागी लाखौ रकम खर्च गरेपनि त्यसको उचित व्यवस्थापन भने हुन सकेको छैन ।
रातीको समयमा छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै यसअघि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले छाडा चौपायाको घाँटीमा रिफ्लेक्टीभ बेल्ट लगाएको थियो ।


















