धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीको अस्तित्व, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहन कांग्रेसजनलाई आग्रह गरेका छन् ।
आइतबार धनगढीमा नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनअन्तर्गत आयोजित कैलाली जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शाहले कसैको डर, धम्की र दबाबबाट विचलित नभई पार्टीको अस्तित्व रक्षाका लागि दृढतापूर्वक उभिनुपर्ने बताए ।

गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा हुने पार्टी महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएको प्रसङ्गमा प्रतिक्रिया दिँदै शाहले नेपाली कांग्रेसले २००३ सालदेखि नै विभिन्न आरोह–अवरोह र चुनौतीहरू पार गर्दै आएको स्मरण गराए । कांग्रेस कुनै पनि डर, धम्की र दबाबबाट त्रसित हुने पार्टी नभएको उनको भनाइ थियो ।
मुलुकको विकास, राजनीतिक स्थिरता र राष्ट्रिय एकताका लागि शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै शाहले पार्टी र मुलुकलाई एकताबद्ध गर्दै समृद्धिको दिशामा अघि बढाउन देउवाको विकल्प नरहेको जिकिर गरे । देशलाई एकाकार बनाउन र राष्ट्रिय समृद्धिको यात्रालाई अगाडि बढाउन मुलुकले अझै पनि देउवाको नेतृत्व खोजिरहेको उनले बताए ।
कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी प्रमुख अतिथि रहेका थिए । कैलालीका १३ स्थानीय तह र पाँच निर्वाचन क्षेत्र समेटिएको अधिवेशनमा ३ हजार १६२ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहेको छ ।
















