खाेज्नुहाेस

बाँझो जग्गालाई उत्पादनसँग जोड्न बडीमालिकामा भूमि बैंक स्थापना

Image

बाजुरा — बाँझो तथा उपयोगविहीन जग्गाको सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले बाजुराको बडीमालिका नगरपालिकाले भूमि बैंक स्थापना गरेको छ । निजी स्वामित्वमा रहेका बाँझो, कम उपयोग भएका तथा खाली जग्गालाई कृषि र व्यावसायिक प्रयोजनमा प्रयोग गर्ने लक्ष्यसहित नगरपालिकाले यो अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

नगरपालिकाको कार्यपालिकाको कार्यालयले मंसिर १० गते सार्वजनिक सूचना जारी गर्दै भूमि बैंकमार्फत जग्गा भाडामा उपलब्ध गराउन इच्छुक जग्गाधनीलाई आफ्नो जग्गा सूचीकृत गर्न आग्रह गरेको छ । भूमि बैंकमा सूचीकृत हुने जग्गा न्यूनतम पाँच वर्षदेखि अधिकतम २० वर्षसम्मका लागि भाडामा दिन सकिने व्यवस्था गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकले जानकारी दिए। उनका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक जग्गाधनीले नगरपालिकाको भूमि शाखामा निवेदन दिनुपर्नेछ ।

attariya hospital

नगरपालिकाले जग्गा भूमि बैंकमा सूचीकृत हुँदैमा त्यसको स्वामित्व हस्तान्तरण नहुने स्पष्ट पारेको छ । जग्गाको पूर्ण स्वामित्व सम्बन्धित जग्गाधनीमै सुरक्षित रहने व्यवस्था गरिएको छ । बाँझो रहेका जग्गालाई खेतीयोग्य बनाउने, कृषि उत्पादन बढाउने र व्यावसायिक खेतीको क्षेत्र विस्तार गर्ने उद्देश्यले भूमि बैंक स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
यस व्यवस्थाबाट जग्गा भएर पनि खेती गर्न नसकेका जग्गाधनीले आफ्नो जमिन भाडामा लगाउन सक्नेछन् भने जग्गाको अभावमा कृषि तथा व्यावसायिक खेती गर्न नपाएका किसान र उद्यमीले आवश्यक जग्गा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।