खाेज्नुहाेस

डोटीमै पहिलोपटक स्थानीय तहबाट मालपोत र नापी सेवा

Image

डोटी — डोटीको पूर्वीचौकी गाउँपालिकाले भूमि प्रशासन शाखा स्थापना गरेको छ । नागरिकलाई गाउँमै भूमिसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सो शाखा स्थापना गरेको हो ।

शाखा स्थापना भएसँगै स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी सेवा सञ्चालन गर्ने पूर्वीचौकी जिल्लाकै पहिलो गाउँपालिका बनेको छ । स्थानीय नागरिकलाई सामान्य जग्गा प्रशासनसम्बन्धी कामका लागि समेत जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउने लक्ष्यसहित शाखा स्थापना गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

attariya hospital

संविधानले स्थानीय तहलाई प्रदान गरेका अधिकार नागरिकको घरदैलोसम्म पु¥याउने प्रयासस्वरूप सेवा सुरु गरिएको उनले बताए । ‘अब मालपोत र नापीसम्बन्धी कामका लागि सदरमुकाम सिलगढी पुग्नुपर्ने बाध्यता कम हुनेछ । स्थानीयले आफ्नै पालिकाबाट सेवा लिन पाउनेछन्,’ उनले भने ।

नेपाल सरकारको निर्णयअनुसार नागरिकको सहजता र सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज शर्माले जानकारी दिए ।

भूमि प्रशासन कार्यालय डोटीका प्रमुख कपिल भट्टले पनि पूर्वीचौकी गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय तहबाट मालपोत तथा नापीसम्बन्धी सेवा सञ्चालनमा ल्याएको पुष्टि गरे ।
यसअघि जग्गासम्बन्धी सामान्य कामका लागि पनि स्थानीयले सदरमुकाम सिलगढी पुग्नुपर्ने अवस्था थियो । गाउँपालिकामै सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ । स्थानीय तहबाटै सेवा पाउने व्यवस्था भएपछि पूर्वीचौकीका बासिन्दाले खुसी व्यक्त गरेका छन् ।