खाेज्नुहाेस

नेपाल–भारत दृष्टिपत्रमा सुदूरपश्चिमका तीन आयोजना

Image

अत्तरिया– नेपाल र भारतबीच आगामी दिनमा द्विपक्षीय सहकार्य विस्तार गर्ने उद्देश्यले सार्वजनिक गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्परिकल्पना’ संयुक्त दृष्टिपत्रमा सुदूरपश्चिम प्रदेशसँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण विषय समेटिएका छन्।

दृष्टिपत्रमा दार्चुला–धार्चुलाबीच महाकाली नदीमाथि सवारीसाधन सञ्चालनयोग्य पुल, दोधारा–चाँदनीमा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने विषयलाई समेटिएको छ।

attariya hospital

भारतको धार्चुला र नेपालको दार्चुलाबीच महाकाली नदीमाथि निर्माण भएको सवारीसाधन सञ्चालनयोग्य पुलको उद्घाटनलाई दुवै देशका प्रधानमन्त्रीले स्वागत गरेका छन्। यसले सुदूरपश्चिमको भारतसँगको सडक तथा सीमा सम्पर्क थप सहज बनाउने अपेक्षा गरिएको छ।

यस्तै, भारतको बनबासा र नेपालको दोधारा–चाँदनीमा नयाँ एकीकृत जाँच चौकी निर्माणको काम तीव्र बनाउने सहमति भएको छ। एकीकृत जाँच चौकी निर्माण भएपछि पश्चिमी नाकाबाट हुने आयात–निर्यात तथा दुई देशबीचको आवागमनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ।

दृष्टिपत्रमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासहित जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाको कार्यान्वयनसम्बन्धी काम तीव्र बनाउने उल्लेख छ। महाकाली नदीको पानीको उपयोग, विद्युत् उत्पादन तथा बाढी नियन्त्रणसँग जोडिएको पञ्चेश्वर आयोजना सुदूरपश्चिमका लागि लामो समयदेखि चासोको विषय रहँदै आएको छ।

navjiwan hospital

नेपाल र भारतले जलस्रोतको आपसी लाभका लागि उपयोग तथा बाढीबाट हुने क्षति न्यूनीकरण गर्न पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने सहमति गरेका छन्।

दृष्टिपत्रमा नेपाल–भारत सीमालाई खुला, सुरक्षित र व्यवस्थित राख्दै सीमापार अपराध तथा गैरकानुनी गतिविधिविरुद्ध सहकार्य सुदृढ गर्ने विषयसमेत उल्लेख छ।

यसका साथै भारतले नेपालको जलविद्युत् तथा विद्युत् प्रसारण पूर्वाधारमा थप लगानी प्रोत्साहन गर्ने र दुवै देशले बजारको माग तथा आपसी लाभका आधारमा विद्युत् व्यापार बढाउने सम्भावना खोज्ने सहमति गरेका छन्।

सुदूरपश्चिमका लागि दोधारा–चाँदनीको एकीकृत जाँच चौकी, दार्चुला–धार्चुला महाकाली पुल र पञ्चेश्वर आयोजना कार्यान्वयनमा आएमा सीमा व्यापार, यातायात, ऊर्जा तथा क्षेत्रीय आर्थिक गतिविधिमा महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिन्छ।

समग्रमा दृष्टिपत्रमा नेपाल र भारतबीच आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको छ। ऊर्जा, जलस्रोत, पूर्वाधार, कनेक्टिभिटी, व्यापार तथा लगानी, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य बढाउने उल्लेख छ।

साथै, सीमापार सम्पर्क विस्तार, रेल तथा सडक पूर्वाधार विकास, विद्युत् व्यापार र प्रसारण प्रणाली विस्तार तथा डिजिटल कनेक्टिभिटीलाई अघि बढाउने विषय समेटिएका छन्। दुवै देशले पारस्परिक लाभका आधारमा ठूला पूर्वाधार तथा बहुउद्देश्यीय आयोजना अघि बढाउने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।