डडेल्धुरा– डडेल्धुराको प्रसिद्ध धार्मिक मेला उग्रतारा देहीजाँतका अवसरमा अमरगढी नगरपालिकाले मङ्सिर ८ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा सेवा केन्द्रहरूमा उक्त दिन सार्वजनिक बिदा रहने जनाएको हो ।

नगरपालिकाका अनुसार उग्रतारा भगवती मन्दिरमा प्रत्येक वर्ष लाग्ने देहीजाँतका अवसरमा सार्वजनिक बिदा दिने परम्पराअनुसार यस वर्ष पनि बिदा दिने निर्णय गरिएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्तराज पन्तले देहीजाँतका अवसरमा नगरपालिकाअन्तर्गतका कार्यालय तथा संस्थाहरू बन्द रहने जानकारी दिए ।

उग्रतारा देहीजाँत डडेल्धुराको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला हो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका अवसरमा उग्रतारा भगवती मन्दिरमा लाग्ने मेलामा डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु तथा दर्शनार्थी सहभागी हुने गर्छन् ।




















