धनगढी – सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसले चालु शैक्षिक सत्र २०८३/८४ देखि स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता विषयको अध्यापन सुरु गर्ने भएको छ।
क्याम्पसको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा उक्त विषयको पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको हो।


आइतबार क्याम्पसमा आयोजित पत्रकारहरूसँगको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले चालु शैक्षिक सत्रदेखि नै आमसञ्चार तथा पत्रकारिता विषयको अध्यापन सुरु गरिने जानकारी दिए।
विश्वविद्यालयले स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारूप तयार गरी अध्यापन सञ्चालनको तयारी अघि बढाएसँगै त्यसलाई थप व्यावहारिक, समयसापेक्ष र सञ्चार क्षेत्रको आवश्यकताअनुकूल बनाउन पत्रकारहरूसँग सुझाव संकलन गरिएको क्याम्पसले जनाएको छ।
कार्यक्रममा क्याम्पसका पत्रकारिता विभागका उपप्राध्यापक एवं विषय विज्ञ भुवन भण्डारीले प्रस्तावित पाठ्यक्रमको स्वरूप, विषयवस्तु तथा मूल्याङ्कन प्रणालीबारे जानकारी गराएका थिए।




















