बैतडी– बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्दा एक महिनामा १ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले गत कात्तिक महिनामा जिल्लाका विभिन्न स्थानमा नियमविपरीत सञ्चालन भएका १७१ वटा सवारीसाधनलाई कारबाही गरी उक्त रकम संकलन गरेको हो ।

कार्यालयका अनुसार कारबाहीमा परेका सवारीसाधनमध्ये १०५ वटा जीप तथा कारबाट १ लाख ८ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ । यस्तै, ३१ मोटरसाइकलबाट २६ हजार, १२ ट्रकबाट १५ हजार, ६ ट्र्याक्टरबाट ५ हजार ५००, ६ बसबाट ४ हजार ५०० र ११ वटा तीनपाङ्ग्रे अटोबाट ९ हजार ५०० रुपैयाँ राजस्व उठेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक यज्ञराज पन्तले ट्राफिक नियम पालना नगर्ने सवारी चालकलाई कारबाही गर्ने क्रममा उक्त राजस्व संकलन भएको जानकारी दिए । यसैबीच, कात्तिक महिनामा बैतडीमा पाँचवटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुई दुर्घटना चालकको कारण, दुई सवारीसाधनको कारण र एक दुर्घटना यात्रुका कारण भएको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, आवश्यक कागजात नबोक्ने, प्रयोजनविपरीत सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा लापरबाही गर्ने आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ ।



















