खाेज्नुहाेस

संगम बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा प्रधान कार्यालय रहेको संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर विष्टको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य मनमोहन विष्ट रहेका थिए भने विशिष्ट अतिथिमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशीको उपस्थिति रहेको थियो ।

attariya hospital
navjiwan hospital

सभामा संस्थाका अध्यक्ष विष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी, संस्थाका कोषाध्यक्ष दीर्घराज अवस्थीले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य दिवाकर सिंह ठकुरीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न शीर्षकमार्फत कुल १८ करोड ६४ लाख ९५ हजार २८६ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले १० लाख ३१ हजार २० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

२०७५ सालमा ३० जना शेयर सदस्य र ६ लाख रुपैयाँ शेयर पुँजीबाट सञ्चालनमा आएको संस्थामा हाल सदस्य संख्या वृद्धि भई २ हजार २५० पुगेको छ । संस्थाको कुल शेयर पुँजी १ करोड ६० लाख ३३ हजार ८०० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, संस्थाले कर्जातर्फ १४ करोड १७ लाख ७६ हजार ५३४ रुपैयाँ लगानी गरेको छ भने निक्षेपतर्फ १२ करोड ४३ लाख १३ हजार १३३ रुपैयाँ बचत संकलन गरेको छ ।

संस्थाले सदस्यहरूको माग, आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै बचत तथा ऋण कारोबार सँगै उनीहरूको आर्थिक तथा सामाजिक विकासमा समेत जोड दिँदै आएको जनाएको छ । सदस्यहरूले उत्पादन गरेका कृषि उपजको उचित बजारीकरण गर्ने उद्देश्यले संगम खाद्य उद्योग (मिल) सञ्चालन गर्दै आएको संस्थाका कार्यकारी प्रमुख अम्मर बहादुर कुँवरले बताए । उनले सदस्यहरूलाई सुलभ मूल्यमा खाद्य वस्तु उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताए । कुँवरले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुनिल विष्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।