खाेज्नुहाेस

सुदूरपश्चिम विश्वविद्यालयमा ४८ घण्टे राष्ट्रिय ह्याकाथन सुरु, १० टोली प्रतिस्पर्धामा

Image

कञ्चनपुर — प्रविधिको प्रयोगमार्फत विभिन्न सामाजिक तथा व्यावहारिक समस्याको समाधान खोज्ने उद्देश्यसहित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ । विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबको आयोजनामा सुरु प्रतियोगितामा विभिन्न पाँच विश्वविद्यालयका विद्यार्थी टोली सहभागी भएका छन् ।

क्लबका अध्यक्ष जेलिना भट्टका अनुसार प्रतियोगितामा सहभागी हुन २८ टोलीले नाम दर्ता गराएका थिए । तीमध्ये छनोट भएका १० टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी टोली सहभागी छन् ।

attariya hospital
navjiwan hospital

प्रतियोगिताका सहभागीले लगातार ४८ घण्टासम्म प्रविधिको प्रयोग गरी विभिन्न समस्याको पहिचान र समाधानका नमुना तयार गर्नेछन् । प्रतियोगिता संयोजक भुपेन्द्र जोशीका अनुसार विद्यार्थीले तयार पारेका परियोजना निर्णायकसमक्ष प्रस्तुत गर्नुपर्नेछ । ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक र कृत्रिम बौद्धिकता (एआई) लगायतका आठ विधामा आधारित रहेर विद्यार्थीले नवीनतम अवधारणा तथा समाधान प्रस्तुत गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने टोलीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने टोलीले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार महिलाको नेतृत्वमा रहेका टोलीमध्ये उत्कृष्टलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

यसका अतिरिक्त हार्डवेयरमा आधारित उत्कृष्ट परियोजना निर्माण गर्ने, स्थानीय समस्याको प्रभावकारी समाधान प्रस्तुत गर्ने तथा उत्कृष्ट प्रस्तुति र डिजाइन गर्ने टोलीलाई पनि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने बताईएको छ । विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले प्रतियोगिताको उद्घाटन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्नुका साथै सिर्जनशीलता, प्रतिस्पर्धात्मक क्षमता र आपसी सहकार्यको भावना विकास गर्ने विश्वास व्यक्त गरे ।

पाठ्यक्रममा सीमित ज्ञानलाई व्यावहारिक प्रयोगमा रूपान्तरण गर्ने अवसरका रूपमा ह्याकाथनलाई लिइन्छ । छोटो समयभित्र समूहमा रहेर प्रविधिमा आधारित समाधान विकास गर्नुपर्ने भएकाले यसले विद्यार्थीको प्राविधिक दक्षता, समस्या समाधान गर्ने क्षमता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।