अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित पार्टनर प्यालेसमा सञ्चालन भइरहेको स्वास्थ्य युवा महोत्सव २०८३ अन्तर्गत आज ‘आमा, छोरी र डाक्टर’ विशेष संवाद कार्यक्रम आयोजना हुने भएको छ।
महिला स्वास्थ्य, मानसिक स्वास्थ्य तथा नशासम्बन्धी समस्याबारे सचेतना अभिवृद्धि गर्ने र यस्ता विषयमा खुला संवादको वातावरण बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।


बुधबार बिहान ११ बजे हुने संवादमा स्त्रीरोग विशेषज्ञ डा. शिवा बम र नशा तथा मनोरोग विशेषज्ञ डा. भावना भट्ट सहभागी हुने आयोजनकले जनाएको छ ।
महोत्सवअन्तर्गत आज सर्वसाधारणका लागि विभिन्न स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध हुने जनाइएकाे छ। यस्तै धनगढी नेत्रालयको सहयोगमा आँखा परीक्षण, गोदावरी नगरपालिकाको सहयोगमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा कान्तिपुर डेन्टलमार्फत दाँत परीक्षण सेवा सञ्चालन गरिने आयोजकले जनाएको छ।
मंसिर २ गतेदेखि सुरु भएको महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा विशेषज्ञ चिकित्सकसँग परामर्श, विभिन्न स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।
सामान्यतया मनोरञ्जन, सांस्कृतिक प्रस्तुति र व्यापारिक गतिविधिमा केन्द्रित हुने महोत्सवको अवधारणाभन्दा फरक स्वास्थ्यलाई प्राथमिकता दिएर आयोजना गरिएको यस महोत्सवले नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्य समस्याबारे विशेषज्ञसँग परामर्श लिन प्रेरित गर्ने लक्ष्य राखेको छ।



















