डडेल्धुरा – डडेल्धुरामा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । विशेषगरी तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती गर्ने किसानको संख्या बढे पनि उत्पादन भएको फूलले सहज रूपमा बजार नपाउँदा किसान समस्यामा परेका छन् ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का किसान टेकराज पाठकले यस वर्ष दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । उनको बारीमा करिब तीन क्विन्टल फूल उत्पादन भएको छ । उनले उत्पादन गरेको फूल प्रतिकिलो ४ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।

फूलखेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखिए पनि बजारसम्म फूल पुर्याउन सहज छैन । स्थानीय बजार सीमित हुनु, ढुवानीको समस्या र बाहिरी क्षेत्रबाट आउने फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले किसानलाई चुनौती थपेको छ ।

त्यस्तै, फूलखेतीका लागि आवश्यक सिँचाइ सुविधा, प्राविधिक ज्ञान र बजार व्यवस्थापनको अभाव पनि किसानका प्रमुख समस्या हुन् । तिहारका बेला फूलको माग बढ्ने भए पनि अन्य समयमा बजार सुनिश्चित नहुँदा व्यावसायिक रूपमा खेती विस्तार गर्न किसानलाई कठिनाइ भइरहेको छ ।
स्थानीय किसानले उत्पादन गरेको फूलले बजार नपाउने तर बजारमा प्लास्टिकका माला र बाहिरबाट आयात गरिएका फूलको प्रयोग बढ्ने अवस्थाले स्थानीय उत्पादन प्रभावित भएको छ ।
कृषि ज्ञान केन्द्र डडेल्धुराले फूलखेती गर्ने किसानलाई प्राविधिक तथा अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । तर, उत्पादन वृद्धि गर्नेमात्र नभई उत्पादित फूलको बजारीकरण, ढुवानी र बिक्रीको उचित व्यवस्था गर्न आवश्यक देखिएको छ ।
स्थानीयस्तरमै फूलको बजार सुनिश्चित गर्न सके डडेल्धुरामा फूलखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्दै किसानको आम्दानी बढाउन सकिने सम्भावना छ ।

















