काठमाडौं – सुदूरपश्चिमलाई चलचित्र निर्माणको नयाँ केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित नेपाल र भारतको संयुक्त सहकार्यमा चलचित्र ‘मोनालिसा ब्लडी लभ’ निर्माण हुने भएको छ।
सुदूरपश्चिमकै लेखक, निर्देशक तथा नायकहरूको सहभागिता रहने चलचित्रमार्फत यस क्षेत्रलाई भारतको दक्षिण भारतीय चलचित्र उद्योग (साउथ फिल्म इन्डस्ट्री) जस्तै व्यवस्थित र बलियो चलचित्र उद्योगका रूपमा स्थापित गर्ने सोच अघि सारिएको निर्माण पक्षले जनाएको छ।

पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन् भने चलचित्र पत्रकार सचित खड्का कार्यकारी निर्माताका रूपमा रहनेछन्। चलचित्रमा सुदूरपश्चिमका चलचित्रकर्मीसँगै नेपाल र भारतका अनुभवी तथा चर्चित कलाकारहरूको समेत अभिनय रहनेछ। कलाकारहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
चलचित्रको ‘World of Mona Lisaa – First Look Motion Poster’ सार्वजनिक भइसकेको छ। हाल चलचित्रको प्रि–प्रोडक्सनसम्बन्धी काम भारतको हैदराबाद र बैंगलोरमा भइरहेको छ। आगामी असार महिनादेखि छायाङ्कन सुरु गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

चलचित्रको करिब ३० प्रतिशत छायाङ्कन नेपालमा र बाँकी ७० प्रतिशत भारतमा गरिनेछ। भारतको चर्चित रामोजी फिल्म सिटीमा समेत चलचित्रका महत्वपूर्ण दृश्यहरू छायाङ्कन गर्ने योजना छ।
ठूलो बजेट र अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको चलचित्रको सम्पादन, कलर ग्रेडिङ, साउन्ड डिजाइन, भिजुअल इफेक्ट्स, डिजिटल इन्टरमिडियट तथा पब्लिसिटी डिजाइनलगायत पोस्ट–प्रोडक्सनका अधिकांश काम भारतका प्रतिष्ठित कम्पनी तथा अनुभवी प्राविधिक टोलीसँगको सहकार्यमा गरिनेछ।
चलचित्रलाई नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारी छ। अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै विश्वका अग्रणी ओटीटी प्लेटफर्महरूसँग डिजिटल वितरण तथा प्रदर्शनका विषयमा समेत छलफल भइरहेको निर्माण पक्षले जनाएको छ।
सुदूरपश्चिमका कलाकार, लेखक, निर्देशक तथा प्राविधिक जनशक्तिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अवसर सिर्जना गर्दै आफ्नै क्षेत्रबाट चलचित्र निर्माणको बलियो आधार तयार गर्ने परियोजनाको उद्देश्य रहेको छ।
नेपाल–भारत चलचित्र उद्योगबीचको सहकार्यसँगै सुदूरपश्चिममा चलचित्र उद्योग विकास गर्ने यो प्रयासले आगामी दिनमा क्षेत्रका नयाँ प्रतिभालाई चलचित्र क्षेत्रमा स्थापित हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















