धनगढी – नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलालीको आयोजनामा धनगढीस्थित फाप्ला खेल मैदानमा सम्पन्न ‘जय नेपाल कप वडा स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिता’ को उपाधि नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ले जितेको छ ।
प्रतियोगितामा धनगढी वडा नम्बर ४ द्वितीय र कैलारी गाउँपालिका वडा नम्बर ६ तृतीय भएका छन । प्रतियोगितामा प्रथम हुने वडा नम्बर ३ ले नगद १५ हजार रुपैयाँ, द्वितीय हुने वडा नम्बर ४ ले १० हजार रुपैयाँ र तृतीय हुने कैलारी वडा नम्बर ६ ले ५ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् ।


प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति भीम बडुवालले गरेका थिए भने समापन तथा पुरस्कार वितरण नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रदीप मिश्रले गरेका छन ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलालीको आयोजनामा भएको प्रतियोगिताको संयोजन नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ले गरेको थियो । प्रतियोगिता क्षेत्र नम्बर ५ का सभापति भीम पडालको सभापतित्वमा सम्पन्न भएको हो ।
खेलकुदको माध्यमबाट युवाहरूलाई एकताबद्ध गर्दै खेल प्रतिभाको पहिचान, प्रवद्र्धन तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक देवेन्द्र हमालले बताए ।




















