अत्तरिया – कञ्चनपुरका दुई छुट्टाछुट्टै स्थानबाट ११ ग्रामभन्दा बढी ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालिका–७ टेडियाबाट ६ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड बस्ने २३ वर्षीय जीवन पार्की रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागेर चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।


यसैगरी, भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टरको ७ नम्बर पिल्लरबाट ५ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ का ३२ वर्षीय दीपक भाट रहेका छन् ।
सु.प.प्र.०२-००३ प ४३८५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


















