धनगढी – सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन तथा सांगीतिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा पहिलोपटक ‘सुरताल म्युजिक टुर–२०८३’ आयोजना हुने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाको आयोजना तथा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको सहआयोजनामा आगामी मंसिर ४ गते धनगढीस्थित रंगशालामा कार्यक्रम हुन लागेको हो ।

‘अब गुन्जिन्छ नेपाल, एउटै सुर एउटै ताल’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा चर्चित गायक प्रकाश सपूत, प्रमोद खरेल, भाका नेपाल, परम्परा, दि फिरन्तेलगायत राष्ट्रियस्तरका कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहनेछ ।

मंसिर ४ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय कलाकारहरूको जम्बो टोलीसँगै सुदूरपश्चिमको स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवद्र्धनसम्बन्धी विशेष प्रस्तुतिहरू समेत रहने आयोजकले जनाएको छ ।
चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाका अध्यक्ष विवेक कुमार नागरिले देशका विभिन्न स्थानमा सफलतापूर्वक सम्पन्न हुँदै आएको सांगीतिक कार्यक्रम पहिलोपटक सुदूरपश्चिममा आयोजना गर्न लागिएको बताए । उनले कार्यक्रमलाई सफल बनाउन सञ्चारमाध्यम, पत्रकार, स्थानीय तह, व्यावसायिक संघसंस्था तथा सम्पूर्ण दर्शकलाई सहयोग र सहभागिताका लागि आग्रहसमेत गरेका छन् ।




















