खाेज्नुहाेस

गोदावरीमा आतङ्क मच्चाइरहेको चितुवा नियन्त्रणमा लिइयो

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–६ मा विगत केही दिनदेखि आतङ्क मच्चाइरहेको चितुवा नियन्त्रणमा लिइएको छ। उक्त क्षेत्रमा घरपालुवा जनावरमाथि आक्रमण गर्दै आएको चितुवा मंगलबार साँझ पासोमा परेपछि नियन्त्रणमा लिइएको हो।

चितुवालाई हाल डिभिजन वन कार्यालयमा राखिएको सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख चन्दु भण्डारीले जानकारी दिए। उनका अनुसार चितुवालाई  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोड्ने तयारी गरिएको छ।

attariya hospital
navjiwan hospital

उक्त चितुवाले दसैँयता गोदावरी–६ का विभिन्न बस्तीमा आधा दर्जनभन्दा बढी घरपालुवा जनावर मारेको थियो। वडाध्यक्ष जग्गुराम चौधरीका अनुसार दसैँपछि मानव बस्तीमा प्रवेश गरेर चितुवाले बाख्रा, कुकुर र बंगुर मार्दै आएको थियो।

वन कार्यालयले चितुवा नियन्त्रणका लागि उक्त क्षेत्रमा दुईवटा पासो राखेको थियो। जसमध्ये ओम शान्तिको घरनजिक राखिएको पासोमा बुधबार साँझ चितुवा परेको वडाध्यक्ष चौधरीले बताए।

यसअघि पनि गोदावरी–६ को लालपुर र रामजानकी टोलमा वन्यजन्तु देखिएपछि स्थानीय त्रसित बनेका थिए। स्थानीयका अनुसार रामजानकी टोलमा घरसँगै जोडिएको उखुबारीमा वन्यजन्तु देखिएको थियो।

वन्यजन्तु बस्ती नजिकै देखिन थालेपछि स्थानीयले साँझबिहान आवतजावत गर्नसमेत असुरक्षित महसुस गर्दै आएका थिए। वन कार्यालयले वन्यजन्तुको अवस्थिति पत्ता लगाउन खोजी तथा निगरानी बढाएको थियो।